अनौठो लभ लेटर...(प्रेम कथा )
उनलाई हेर्नकै लागि भए पनि म कलेज जान्थेभन्दा पनि हुन्छ ! कापी पटाएर गोजामा कोची कलेज टाइमभन्दा आधा घण्टा अघि नै म कलेज पुग्थे अनि गेटमा बसेर उनलाई लाइन मार्थे । मैले उनलाई भित्री मुटुमा सजाइसकेको थिए, तर उनलाई यो कुराको पत्तो नै थिएन । त्यसैले पनि उनलाई लाइन मार्न सजिलो भएको थियो । उनी हेर्दा रुपवती थिइन् । उनलाई देख्नासाथ मन खुशीले पागल हुन्थ्यो, तर खुट्टा लगलग काप्थे । मुख सुकेर सुख्खा हुन्थ्यो, तर त्यो सब कुराको कुनै वास्ता नै नगरी उनी मेरै अघिबाट स्कूल भित्रिन्थिन्, म हेरेको हेरै हुन्थे । मैले एघारमा पढ्दा उनी भने १० मा पढ्दै थिइन् । कलेज जान थालेको पहिलो दिन नै मैले उनलाई मन पराएको थिएँ । तर न त नाम थाहा थियो न त घर । मात्र यति थाह थियो कि उनलाई कुनै दिन आफ्नो बनाउँछु । पढ्नु पर्छ भन्ने विचार लिएर कलेज भर्ना भएको मेरो मनलाई उनको रुप अनि उनीप्रतिको मेरो मायाले सबै भुलाइदियो । मेरो गाउँभन्दा आधा घण्टाको दूरीमा हाम्रो स्कूल थियो । बाल जनता उच्च माध्यमिक विद्यालय । हुन त केटाहरु दश कक्षादेखि नै लभको चक्कर चलाउँछन, तर त्यो उमेरमा मलाई पढाईभन्दा अरुतिर ध्यान भएन । केटीसँग बोल्नसम्म लजाउने मेरो बानीले गर्दा पनि मलाई त्यतातिर ध्यान पु¥याउन दिएन । तर, मभित्र बैस चढ्दै जाँदा मैले पनि उनलाई मन पराउन थालेछु । प्लस २ को पढाई हुने कोठाको ठीक तल्लो तलामा उनको दश कक्षा थियो । मेरो हरेक क्लासको पढाई सकिने बित्तिकै म उनको क्लासको झ्यालबाट उनलाई चियाउन पुगिहाल्थे । केटीको लाइनबाट चौथो बेञ्चमा उनी बस्दथिन्, त्यो ठीक झ्यालमै पर्दथ्यो । म एकोहोरो रुपमा उनलाई हेर्दथे, तर उनी मलाई नहेरी कहिले सरले पढाको हेर्थिन् त कहिले साथीहरु सँगै जिस्कन्थिन् । जिस्कँदा उनी यति मीठो तरिकाले हाँस्थिन कि उनको हाँसोमा म आफ्नो पीडा भुल्दथे । छायाँ केसी ! आज उनको नाम पत्ता लगाएँ । नाममै यति माया थियो कि छायाँ नाम गरेका हरेक चीज मलाई मन पर्न लागे । छायाँ लेखेका हरेक चीज आफ्नै लाग्न थाले । एकतर्फी रुपमा उनलाई यति माया गर्ने भए कि शनिबार पनि किन कलेज बिदा हुन्छ होला भनेर रिस उठ्ने हुन थालिसक्यो । माया पिरतीका गीतहरु रेडियो टिभीमा बज्दा मेरै लागि गाइदिए जस्तो लाग्न थाल्यो । धेरै माया गर्ने केटाकेटीलाई क्रेजी भएको भन्ने गर्थे केटाहरुले । हो म त्यस्तै क्रेजी थिएँ छायाँको लागि । तर, उनलाई मतलव नै थिएन । तर पनि ममा हिम्मत थियो, एक दिन उनलाई आफ्नो प्रेमिका बनाउने छु । आफै भन्ने हिम्मत मभित्र थिएन । यसरी आँखाको भाषा उनले बुझ्नेवाला पनि थिइनन् । समय छोट्टिँदै थियो । उनले दश कक्षाको परीक्षा दिइन भने उनलाई देख्न पनि पाइनेवाला थिएन् । चिट्ठी लेखेर दिउँ त प्रतिउत्तरमा चप्पल खाने डर लाग्दथ्यो, किनकि उनको मन मैले बुझेको थिएन । सिधै गएर भनम् त मभित्र त्यति धेरै हिम्मत जम्मा भएको थिएन । कसैलाई भन्न पठाम त मलाई सहयोग गर्दिने हिम्मती कोही थिएन । त्यसैले पनि मनको कुरा मनमै मार्नुको विकल्प नरहेको जस्तो अनुभूति हुँदै थियो । ‘ओए दिपके छायाँ त मन्दिपेको भाञ्जी पर्नी हो चे बड्डा ! मन्दिपेलाई भन्न लगा न !’ घनेले एक्कासी खुशीको कुरा सुनाउना साथ मन फुरुङ्ग भो । अब मन्दिपेलाई पो कसरी मनाउनु ? छायाँलाई आफ्नो बनाउनका लागि मन्दिपेका हर शर्तहरु मान्न तयार थिएँ । तर पनि उसले कुनै न कुनै शर्त राखेर भए पनि मेरो काम गरिदियोस् भन्ने कामना गर्दै उसलाई भेट्न खोजें । कुरा अलि घमण्डी गरे तापनि मन्दिपेले मेरो कुरा कसो नमान्ला र भनेर मनमनै खुशी पनि भएँ । ‘मन्दिप दाइ, तैले छायाँलाई चिन्छस् ?’ ‘किन बे ? चक्कर चलाउन ला छस् कि के हो मेरो भाञ्जीसँग !’ चिन्छस् भन्ने प्रश्नमै मन्दिपेले अनुहार कालो बनाउँदै मसँग रिस देखाउन थाल्यो । मैले उसको अनुहारबाटै थाहा पाइहाले कि उसले मेरो काम गर्दिन्न भन्ने । ‘दाइ, प्लिज यार, तेरो भाञ्जीलाई भस्मे मन पराउँछु के, एक पटक भन्देल न ! बरु हिँड छोला समोसा ख्वाउँछु तलाई आज ।’ ‘भाक, तेरो छोला समोसाले दिदी भिनाजुको हातबाट कुटाइ खानु छैन मलाई । तेरो छोला समोसा तंै खा तर मलाई यो काममा नफसा बड्डा !’ त्यसै त कमिना मन भाको मन्दिपेले मेरो काम नगर्दिने नै निर्णय सुनायो । मैले राखेको शर्तमा उसले मेरो काम नगरे पनि उसले कुनै शर्त राखेर मेरो काम गर्छ भने म त्यो मान्न तयार थिएँ । ‘प्लिज यार दाइ ! यत्ति काम गर्दे न, बरु तैले जे भञ्चस त्यो म मान्छु । तर यत्ति काम गर्दे, तेरो भाञ्जीलाई कहिल्यै दुःख दिन्न !’ ‘ल तेसो भा छोला समोसा पनि ख्वा अनि रगतले लभ लेटर लेख, म लगेर दिन्छु, तर मैले मुखले भन्दैन है तो !’ उसको कुराले मेरो आशा पलाए तापनि रगतले लभ लेटर लेख्ने कुराले मन झस्कियो । मानौं त डरलाग्दो सम्झौता म गर्न सक्नेवाला नै थिएन, नमानौ त योभन्दा अर्को उपाए मेरो लागि थिएन, छायाँलाई आफ्नो बनाउनका लागि । ‘दाइ, डटपेनले लेख्छु के यार है, काँ रगतले लेटर लेख्ने कुरा गर्चस् यार !’ ‘हेर बड्डा तेरो लागि भन्या हम ! रगतले लेखेसी केटी झ्याप्पै पट्टिन्छन्, बाँकी तेरो मर्जी !’ मन्दिपेको कुरा पनि ठीकै थियो । रगतले लेखेसी छायाँलाई पनि मैले कति माया गर्ने रहेछु भन्ने सजिलै अनुभूति हुन्थ्यो । तर, आफूले गर्नै नसक्ने कुराभन्दा अर्को उपाए निकालेर मन्दिपेलाई फकाउनु उचित थियो । ‘दाइ भ्यालेन्टाइन डे पनि आउन ला‘छ, बरु आइ लभ यु लेख्या दामी ग्रिटिङ कार्ड किनेर दिन्छु है, तर यो हात काटेर रगत निकालेर लेटर लेख्ने काम चाई गर्दैन यार !’ ‘ल ल हुञ्च, तर कार्ड चै दामी किनेस् है अनि भित्रबाट तैले आफै पनि केही लेखेर राखेर मलाई दिएस् अनि म लगेर दिम्ला !’ अहिले भने मन खुशीले फुरुङ्ग भयो । लमही बजारमा गिफ्ट पसल धेरै त थिएनन् तर पनि भएका जति पसलमा छानेर सबैभन्दा महँगो र दामी ग्रिटिङ कार्ड किने अनि घरमा ल्याएर राम्रा अक्षरले छायाँ+दीपक लेखेर सिरानी मुन्तिर राखेर सुते । छायाँको टेस्ट परीक्षा र भ्यालेन्टाइन डे लगभाग एकै महिनामा परेको थियो, तर भ्यालेन्टाइनको कार्ड दिनको लागि भ्यालेन्टाइन डे नै कुर्नुपर्ने आवश्यकता थिएन । मौका अनि अवसर हेरेर माघको अन्तिमदेखि फागुनको १५ गतेसम्म जहिले दिए नि गजब हुन्थ्यो । मैले पनि मेरो कलेज छुट्टीको दिन मन्दिपेलाई हाम्रो कलेज लगेर उनलाई त्यो कार्ड दिने विचार गरें । मन्दिपेसँग यो विषयमा कुरा गरे दिनदेखि मलाई निद्रा पनि लाग्न छाडेको थियो । अनि मन्दिपेले पनि कैयौ पटक छोला समोसामा मोज गर्न पायो । ‘ल दाइ यो कार्ड छायाँलाई दिएस् अनि अलिकति कुराहरु पनि गर्देस् यार है !’ ‘अरे यार, त चिन्ता नगर न । म आफ्नो तरिकाले मिलाएर भन्छु !’ मन्दिपेको कुराले मन खुशी मात्र होइन मनमनै छायाँलाई आफ्नै बनेको सपना देख्न लागे । म गेट बाहिर बसेर मन्दिपेलाई भित्र पठाएँ । टिफिन टाइम भएको थियो । सायद छायाँहरु क्यान्टिनमा बसेर छोला–समोसा नै खाँदै थिए होला । मनमनै खुशी हुँदै बाहिर बसिरहे । ‘जाम हिँड, अब भाञ्जीको कुरा गर्न छाडिदे बड्डा !’ ‘किन यार दाइ ? त्यस्तो कुरा नगर न दाइ ! छायाँले कार्ड लागिने र बड्डा कि च्यातेर फाल्दी र ?’ मन्दिपेको दुई शब्द मुखबाट निस्कन नपाउँदै मेरा मुखबाट दशौं प्रश्न निस्किए । मन रुन खोज्दै थियो तर आँखामा आँसु आइपुगेका थिएनन् । ‘छायाँको अर्कैसँग चक्कर छ रे बड्डा ! उसलाई तेरो कार्ड दिन्छु भनेर क्यान्टिनमा पुगेको थिएँ । त्यो त किरणसँग बसेर नास्ता खाँदै थिई, अनि मैले रबिनालाई सोधेको किरण र छायाँको त चक्कर चलिरा‘छ भञ्ची बड्डा । त्यई पनि तेरो कार्ड रबिनालाई दिएको छु, छुट्टी भएसी घर जाँदा सुटुक्क दिएस् भनेको छु, हेरम तेरो कर्ममा के लेखेको छ ?’ मन्दिपेले यति कुरा गरिरहँदा म निराश मात्र होइन, ज्यादै तनावमा थिएँ । मलाई घर जाने मन थिएन, तर त्यहाँ बसेर हुनेवाला केही थिएन । म अलि ढिला भएछु भन्ने लाग्यो । तै पनि छायाँलाई आफ्नो प्रेमिका बनाउने झिनो आशा लिँदै घर फर्किएँ । ‘दीपक यो छायाँले दिएको हो लौ !’ रबिनाले मैले छायाँलाई दिएको भ्यालेन्टाइन कार्ड मलाई नै फिर्ता गरिदिई । कलेजको गेटैमा पुगेको मलाईभित्र छिर्न मन नै लागेन । छायाँलाई देखे भने झन मुटु दुख्ने ठानेर आफ्नो कर्मलाई दोष दिँदै घर फर्किएँ । अनि कहिल्यै त्यो कलेज फर्किएन । आजसम्म पनि उसैको यादमा बसिरहेको छु । उसले माया गरिने त के भयो र, ऊ मेरो भइने त के भयो र ? उसको माया पाउन सकिन त के भयो र ? मैले माया मा¥या छैन अझै पनि, अनि माया मार्नेवाला पनि छैन । उसको माया सधैं जीवित रहने छ मेरा लागि बाँचुञ्जेलीलाई । स्रोत : रातो पाटि
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses