सबैले हेर्नै मेरो डायरी : जब जातले रोक्यो मामाघर जाने बाटो
एसएलसी परीक्षा दिएर घर फर्केकी थिएँ म त्यस दिन । घर पुग्दा ममीको मुहार घण्टौंदेखि मलाई नै कुरिरहेझैं देखिएको थियो । कोठाभित्र छिर्ने बित्तिकै घरमा देखिएका नयाँ मान्छेहरूलाई संकेत गर्दै भन्नुभयो, ‘मामा–माइजूलाई नमस्ते गर ।’ नमस्ते गर्नकै लागि त मलाई सिकाउनुपर्ने थिएन । यो कुरा ममीलाई पनि थाहा थियो । तर ममीले त्यसो नभनेको भए म मामा–माइजूलाई चिन्ने थिइनँ । किनकि मैले त्यो उमेरसम्म पनि मामा–माइजू देखेकी थिइनँ । ‘नमस्ते’, मैले सानो स्वरमा भनेँ र हात जोडेँ । उताबाट नमस्कार फिर्ता आयो । तर मलाई महसुस भयो कि त्योे नमस्कारमा पटक्कै अपनत्व छैन । ‘ठूली भान्जी ।’ ममीले नै मामा–माइजूलाई भनिदिनू भयो । मामा–माइजू निःशब्द मुस्कुराउनुभयो । सायद कुरा गर्ने कुनै बिषय खोज्दै हुनुहुन्थ्यो होला । मामालाई लागेको हुँदो हो– भान्जी त यति ठूली भइसकिछिन् । तर त्यसो भन्न पनि त मिलेन । किनकि सानोमा हुँदा पनि त देख्नुभएको थिएन । त्यस्तो परिस्थितिमा म न मामा–माइजू देखेर खुसी हुन सकेँ, न त दुःखी नै । मेरो मामाघर जाने इच्छा कहिले हो कहिले मरिसकेको रहेछ । मैले मेरो मामाघरका कुनै पनि सदस्यलाई भेट्छु भनेर सोचेको पनि थिइनँ । किनकि मामाघर हाम्रो लागि नजाने गाउँको बाटोजस्तै बनेको थियो । जसको सोधी–खोजी गर्नुको कुनै अर्थ थिएन । त्यही असमञ्जस स्थितिमा मैले ममीको अनुहार हेरें । त्यहाँ त अनौठो किसिमको चमक थियो । सायद, उहाँले मामा–माइजू आफ्नो घरमा आउने दिन आउँछ भनेर कहिल्यै सोच्नुभएको थिएन । मलाई सानो हुँदा मामाघर जान खुब मन लाग्थ्यो । स्कुल छुट्टी हुनासाथ साथीहरू मामाघर जाने कुरा गर्न थालिहाल्थे । तर आफ्नो त आफूलाई भने कुरासमेत गर्न मन लाग्दैनथ्यो । यतिसम्म कि कसैले मामाघर कहाँ हो भनेर पनि नसोधिदिए हुन्थ्योजस्तो लाग्थ्यो । साथीहरूको. मामाघरमोह देख्दा भने साह्रै लोभ लागेर आउँथ्यो । ‘के हुन्छ होला मामाघरमा ? के खान पाइन्छ होला ?’ यस्ता प्रश्न मनमा आइरहन्थे । लाग्थ्यो– जतिबेला पनि बोकेरै हिँडछन् होला मामाहरूले । मामाघर जान नपाएकोमा घरी–घरी त साहै्र रिस उठ्थ्यो बुबा–ममीदेखि । तर रिसाउनुको के अर्थ ?
घरको जेठो सन्तान हुनुहुँदो रहेछ ममी । सानै उमेरमा आफ्नै फ्याक्ट्रीमा काम गर्ने, त्यो पनि कथित तल्लो जातको व्यक्तिसँग विवाह गरेको भनेर घरबाटै बहिस्कार हुनु परेको रहेछ । जब कुरा बुझ्दै जान थालेँ, ममीप्रति सम्मान र मामाघरप्रति घृणा बढ्दै जान थालेको थियो ।
मेरो मामाघर जाने सपना रोक्ने एउटै कारण थियो– बुबा–ममीको अन्तरजातीय विवाह । बाबा परियार र ममी ब्राम्हण समुदायको भएकै कारण मलाई मामाघर जाने सपना देख्ने अधिकार थिएन । ठुलो हुँदै जाँदा बिस्तारै बुझ्न थालेँ कि घर र मामाघरबीचको ठूलो पर्खाल भनेको मेरो हजुरबुबाको प्रतिष्ठा र आत्मसम्मानको खोक्रो घमण्ड थियो । घरको जेठो सन्तान हुनुहुँदो रहेछ ममी । सानै उमेरमा आफ्नै फ्याक्ट्रीमा काम गर्ने, त्यो पनि कथित तल्लो जातको व्यक्तिसँग विवाह गरेको भनेर घरबाटै बहिस्कार हुनु परेको रहेछ । जब कुरा बुझ्दै जान थालेँ, ममीप्रति सम्मान र मामाघरप्रति घृणा बढ्दै जान थालेको थियो । ममी ऐशआराममै हुर्किनुभएको रहेछ । काठमाडौंको स्थायी बासिन्दा । सुखसयलको जिन्दगी चटक्क माया मारेर रामेछापजस्तो विकट ठाँउमा घाँस, दाउरा, पानीपधेँरो गर्न तयार हुने उहाँको प्रेम र त्यसप्रतिको समर्पण साँच्चै अतुलनीय छ । बाबाले ममीको बारे धेरै कुरा सुनाउनुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘ढिँडो भनेको सुन्दा तेरी आमा हाँस्थी ।’ म सानो बेलाको कुरा सम्झन्छु, रामेछाप हुँदा ढिंडो पकाउन समेत पिठो नपुगेपछि ममीले खोले बनाएर खुवाउनुभएको थियो । यी कुराहरू बुझ्दै जान थालेपछि मैले मामाघर लैजानू भनेर ममीलाई कहिल्यै कर गरिनँ । किनकि मलाई थाहा थियो– स्कुलबाट छुट्टी हुँदा साथीहरूले गरेको कुरा सुन्दा जति मलाई मामाघरको याद आउँथ्यो, त्योभन्दा धेरै नियास्रो ममीलाई तीज र तिहारमा माइतीकोे लाग्थ्यो । २० वटा नियास्रा तीज र तिहार मनाइसकेपछि आमाको अगाडि त्यो दिन आएको थियो । उहाँको अगाडि माइती आएका थिए । मलाई पनि मामा आफैं हाम्रो घर आएकोमा अचम्म लागेको थियो । यत्तिकैमा माइजू बोल्नुभयो, ‘बिहा गरेको छ महिना बितिसक्दा पनि दिदी हुनुहुन्छ भन्ने मलाई थाहा नै थिएन । पछि उहाँले भनेर थाहा पाएँ । जे जस्तो भए पनि चेलीबेटी भनेको चेलीबेटी हो ।’ माइजूको कुरा सुनेपछि लाग्यो– उहाँहरू आउनुमा माइजूको ठूलै योगदान रहेछ । त्यसपछि मामाले भन्नुभयो, ‘जे भए पनि अब आऊ जाऊ गर्न थाल्नुपर्छ । सधैँ यसरी हुँदैन ।’ त्यतिबेलासम्म ममीको आँखामा तलाउ बनिसकेको रहेछ । मैले अनुमान गरेँ, त्यो आँसु पक्कै खुसीको हुनुपर्छ । त्यस दिन उहाँहरूले धेरै कुरा गर्नुभयो । दिन ढल्कँदै जाँदा मामा–माइजू फर्किन लाग्नुभयो । मतिर हेरेर हाँस्दै निम्ता गर्नुभयो, ‘भान्जी, ममीसँगै तपाईं पनि आउनू है मामाघर ।’ मैले मुस्कुराएर भनेँ, ‘हुन्छ ।’ तर झट्ट मनमा आयो– मेरो रमाउँदै मामाघर जाने उमेर त होइन यो । त्यतिबेलासम्म मेरा साथीले मामाघरको कुरा सुनाउन छोडिसकेका थिए । मामाघर भन्ने शब्द सुनेर उत्साहित र उत्सुक हुने उमेर मैले छिचोलिसकेकी थिएँ सायद । सायद, मामाघरमा गएर रमाइलो गर्ने रहरहरूमा धेरै पहिले पूर्णविराम लागिसकेको थियो ।
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
1 comments
Write Down Your Responses


30 April 2016 at 02:30
Aakhir dhilo vaye pani ghaito ma gham lageko rahe xa. Tara euta kura j vaye pani bihe vane ko aafnai jat ma ramro hunxa. kina ki bihe sanga parampara sa sanskriti jodiye ko hunxa. yedi jat chahini thiye na vane ahile kina jatiya aayog chahini thiyo ra, janajati lai janajati aayog ra dalitlai dalit aayog nai chahini thiyena ni, sabai jat eutai vayeko vayeta, hoina ra sathi ho. jun dina jatiye sanstha haru hatxan, jatiye aayog haru hundainan taba matra duita matra jat hunxa(male and female) natra jat rahi rahanxa.