अमेरिकामा नेपालीले नेपालीलाई देख्दा किन नबोली हिँड्छन् ?
हैन दाई, यो अमेरिकामा नेपालीहरु एकआपसमा बाटोमा हिँड्दा, भेट हुँदा पनि बोल्दैनन् ? हामी कतारमा काम गर्दा, यसो कहिलेकाही बजार जाँदा, नेपाली भेटिँदा आफ्नै गाउँको दाजुभाई भेट भएझैँ मानेर बोलचाल गरिन्थ्यो । तर यता त बरु बाटोमा हिँड्दा काले, गोरे, स्पानिसहरुले ‘हेलो, हाय, हाउ आर यू सर÷मेम’ भन्छन् तर नेपालीबाट यस्तो व्यवहार पाइएन भनेर एकजना हितैषी भाइले हिजो मात्रै मसँगको भेटमा भने । त्यसले मेरो मानसपटलमा एक झट्का राम्रै सँग हान्यो र दुई चार शब्द लेख्न मन लाग्यो ।
वास्तवमा आफ्नो गाउँठाउँ वा जन्मेको ठाउँ वा देश छोडेर सात समुन्द्र टाढा आउँदा पक्कै पनि आफ्नो मुलुकको मान्छे भेट्दा निकै खुशी लाग्नु पर्ने हो । र, यसो भए यो स्वाभिक पनि हुने हुन्थ्यो । प्रायः भारत लगायत अन्य खाडी मुलुक जानेहरुले भेटघाटको क्रममा आफूहरुले विदेशी ठाउँमा अरु नेपालीलाई भेट्दा निकै खुशी लाग्छ, घरपरिवार, छरछिमेकी नै भेटेको महशुष हुन्छ भनेर व्यक्त गरेको पनि पाइन्छ । यद्यपि अमेरिकातिर पहिलोपटक नेपालबाट फ्लोरिडा आउँदा नेपालीहरु भेट्दा मलाई पनि निकै खुशी लागेको थियो ।
फ्लोरिडामा एक त नेपालीहरुको जनघनत्व त्यति धेरै छैन्, अर्कोतर्फ प्रायः गाडीवेगरका मान्छेनै हुँदैनन् किनकी सार्वजनिक यातायातको त्यति बढी प्रयोग हुँदैन अर्थात् निजी सवारी साधननै बढी प्रयोग गरिन्छ । जसको कारण सडकमा हिँडेर सार्वजनिक यातायातको साधन कुर्नेहरुको जमात त्यतिसारै भेटिदैँन् । कहिलेकाँही यसो घुम्न सडकमा हिँड्ने क्रममा नेपालीहरु भेटिने चान्स निकै कम हुन्छ ।
जब मेरिल्याण्डको बाल्टिमोरतिर बसाँई सरियो तब भने बाटोघाटो र सार्वजनिक यातायातको साधन, बसबिसौनी, सपिङ मल जताततै नेपालीहरु भेटिए । तर कोही पनि बोलेको पाइएन । र, म एक किसिमले दंग परेर एपार्टमेन्टमा सँगै बस्ने साथीहरुलाई सोधेो – ‘हैन बाल्टिमोरमा नेपालीहरु किन बाटोघाटोहरुमा भेट हुँदा एकआपसमा बोल्दैनन् ।’
उनीहरुले जवाफ दिए– यताको नेपालीहरुको बानी नै त्यही छ । यो जवाफ सुनेर मलाई नरमाइलो लाग्यो ।
एसएलसी दिएर बाबुसँगै इन्डिया गएर ५–६ महिना बस्दा कहिलेकाँही समुन्द्रको किनार र बजार घुम्न जाँदा अक्कल झुक्कल नेपाली भेटिँदा एकदमै खुशी हुँदै गफगाफ गरिन्थ्यो । त्यो क्षणले नेपालीहरुको आपसी भाइचारा र आत्मियता जहाँ गएपनि हुन्छ भन्ने महशुस गराउँथ्यो र एक किसिमले गाउँको मायाको तलतल मेटिएझैँ लाग्थ्यो । तर इन्डिया भन्दा निकै टाढा भनौँ, भूगोलको एक पाटोबाट अर्को पाटोमा आएर आफ्नै देशको मान्छे बाटोघाटो, बसबिसौनी, सपिङ मल, डाउनटाउन, सडकपेटी आदिमा कुम ठोक्किएर हिँड्दा समेत नेपालीमा बोलेर चिनजान गर्न नखोज्नु भनेको कस्तोसम्म बडप्पन होला ? यही सोच मनमा आइरहेको थियो ।
यस्तो प्रवृत्ति देख्दा कताकता नरमाइलो लाग्दै गयो । र, बिस्तारै बानी पनि पर्दै गयो कि सायद धेरै नेपालीहरुको बर्चस्व भएको ठाउँ भएर यस्तो भए होला भन्ने सोचको विकास भयो र आजकल त यस बारे खासै चासो दिन पनि छोडियो । तर पनि अझै बाटोघाटो, सपिङ सेन्टर, पार्क, समुन्द्रको किनार, बसबिसौनी जताततै जसलाई (अमेरिकनहरुलाई( भेटे पनि हेलो–हाय आफू पनि भनिन्छ र उनीहरु पनि भन्छन् । तर नचिनेको नौलो नेपाली देखेमा भने केही पनि बोलिँदैन । वास्तवमा यस किसिमले नेपाली भएर पनि आपसमा सामान्य हेलो÷हाय समेत नगर्नु कति उपयुक्त होला वा नहोला विचारणीय कुरा छ । सबैको आ–आफ्नै राय, सल्लाह, विचार, दृष्टिकोण, मान्यता होला, आपसमा अपरिचित नेपालीहरु भेटघाट हुँदा बोलचाल गर्ने र नगर्ने सम्बन्धमा ।
मेरो विचारमा वास्तवमै हामी नेपालीहरु जहाँ जसरी भेटेपनि हाम्रै भाषामा नमस्कार भनेर बोलचाल गर्दा मुन्टोनै काटेझैँ पक्कै हुँदैन । र, बोल्दा सानो पनि भइँदैन बरु आपसमा चीनजान हुन्छ र कुनै समस्या वा अप्ठ्यारो पर्दा सहयोगको आदानप्रदान पनि हुनसक्छ । हुनतः एकजना दाइले भन्दै थिए– भाइ म त नेपालीहरुको बढी बसोबास भएको एरियामा बस्न मन पर्दैन । किनकी नेपालीहरुले सहयोग मागेर हैरान पार्छन् । र, व्यवहार पनि छुद्र हुन्छ, आपसमा लडाउने, भँडाउने, डाहा गर्ने, चुक्ली लगाउने जस्ता काम गर्छन् बरु गोरेको एरियातिर बसेपछि कसैको केही सुन्नुपर्दैन । केवल आफ्नो सुरमा काम गरे आनन्दै हुन्छ भन्ने कुरा सुनाएका थिए । एक हिसाबले उनको सोच पनि ठीकै होला । तापनि नेपालीहरुबीच आपसी सम्बन्ध राख्न आवश्यक छ । किनकी प्रदेशको ठाउँमा सधै एकनाश हुँदैन । तसर्थ आफ्नो नेपाली समुदायबीच आपसी सम्बन्ध प्रगाढ पार्नैपर्छ ।
त्यस्तै बाटोघाटो, बजार, सपिङ मल, ग्यास स्टेशन, ग्रोसोरी स्टोर, खाजा भण्डार जहाँ भेटे पनि एकआपसमा बोलचाल गर्दा आकाश खस्दैन, धर्ती पनि फाँट्दैन ।
अतः नेपालीहरु आपसमा बोलचाल वा हेलो÷हाय गर्ने बानी बसाल्नु राम्रै हुन्छ । त्यस्तैगरि अमेरिकनहरुले केवल औपचारिकताको लागी जहाँ जस्लाई भेटेपनि ‘हेलो हाउ आर यू’ भनेर बोल्दै हिड्ने गर्छन् । र, यो उनीहरुको एक किसिमको संस्कार जस्तै बनेको छ । तर यसो भनिरहँदा उनीहरुले अरुबाट खासै प्रतिउत्तरको अपेक्षा पनि राख्दैनन् । कम्तीमा एउटा मानवले अर्को मानवलाई भेट्दा यसरी अभिव्यक्ति दर्शाउनु सराहनीय काम हो । अमेरिका जस्तो व्यस्त ठाउँमा एकआपसमा आत्मियता प्रकट गर्ने यो भन्दा उत्तम शैली अर्को के हुन सक्ला ? तर, हामी त्यति धेरै टाढाबाट अर्काको मुलुकमा आएर स्थायी बसाइसराइँको रुपमै ग्रिनकार्ड लिएर नागरिकता लिन लाइनबद्ध हुँदा समेत आफ्नै जन्मथलोकै व्यक्ति देख्दा एकबचन मुखबाट निकाल्न कन्जुस गर्छौँ । तर अन्य व्यक्तिहरु देख्दा, भेट्दा भने सजिलै बोल्छौ । यस किसिमको संस्कार किन बसेको छ यसमा परिवर्तन आउन जरुरी छ ।
कम्तीमा नेपालीहरु आपसमा भेट हुँदा जहाँ पनि चिनजान नभएपनि बोलचाल गर्ने, चिनजान गर्ने गर्नुपर्ने हुन्छ । चीनजान भएको नेपालीहरुलाई पनि सानोतिनो काममा पनि अनावश्यक दुख दिने, झन्झटिलो व्यवहार भने गर्नु हुँदैन । यस्तो गरेमा नयाँ अमेरिकन संस्कारमा घुलमिल हुन थालेका नेपालीहरुले झन्झट मान्ने, सकभर टाढिन खोज्ने प्रवृत्ति पनि देखाउँछन् । कतिपय यस्तै अबस्था आउन सक्छ अर्थात् चिनजान गर्दा भोलि काम खोज्दे भन्ला, अपार्टमेन्ट खोज्दे भन्ला, नजिकै नेरघेरमा बस्ने भए कहिलेकाँही राइड पनि माग्ला, अझै नजिक हुँदै गएर पैसा सरसापट पनि माग्ला भन्ने डरले पनि आपसमा नजिक हुन नखोजेका हुन कि भन्ने आशंका पनि उठ्न सक्छ । त्यही पनि जसरी अरु अमेरिकन वा अन्य देशका नागरिक भेट्दा जसरी हेलो–हाय गरेर हल्का सम्बोधन गरिन्छ, त्यसरी पनि नेपालीहरुबीच भेटघाट हुँदा पनि त्यतिसम्म गर्दा राम्रै हुन्छ । कमसेकम नेपालीहरुको पनि राम्रै–बाक्लै बसोबास रहेछ यो ठाउँमा र व्यवहार पनि आत्मियता झल्कने रहेछ भन्ने सन्देश सबैमा जान्छ । अतः अबका दिनहरुमा कम्तीमा पनि जहाँ भेटघाट हुँदा पनि आपसमा बोलचाल गर्ने बानीको विकास गरौँ र नेपालीहरुबीच आत्मियता छ भन्ने सन्देश सबैमा पुर्याउने काम गरौँ ।
लेखक अमेरिकाको बाल्टिमोर, मेरिल्याण्डमा बस्छन् ।
स्रोत : दैनिक नेपाल =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses