प्रधानमन्त्री प्रचण्डका १५ दिन : के गरे, के गर्न सकेनन् ?सबै सुची सहित हेर्नुहोस र आफ्नो भनाइ राख्नुहोस
मन्त्रिपरिषद्को भदौ २ गतेको बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारका रुपमा रामदीप आचार्यलाई नियुक्त गर्ने निर्णय गर्यो । माओवादीका पोलिटब्युरो सदस्य आचार्य प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्त भएपछि उनलाई सयौँ एसएमएस र फोन मार्फत बधाई तथा सफल कार्यकालका लागि शुभकामना आए । आचार्यले सबैलाई एउटैजस्तो जवाफ दिए– ‘प्रधानमन्त्रीलाई जनतासँग जोड्न अधिकतम प्रयास गरिनेछ ।’ प्रचण्ड प्रधानमन्त्री भएको १५ दिनपछि जनसम्पर्क सल्लाहकार नियुक्त भएका हुन् ।
प्रचण्डले १५ दिनमा चाहिँ जनतासँग जोडिने के काम गरे ? हुन त कुनै पनि सरकारको १ सय दिनलाई ‘हनिमुन’को रुपमा हेरिन्छ र सरकारका कामको समीक्षा गरिँदैन । तर प्रचण्ड प्रधानमन्त्री भएकै दिनदेखि राजनीतिक वृत्तमा, जनस्तर र कूटनीतिक क्षेत्रमा उनीमाथि ‘खास चासो’ देखिएको छ ।
पहिलो पटक प्रधानमन्त्री हुँदाको अनुभव र भविष्यको चिन्तासँगै प्रधानमन्त्री प्रचण्ड आफै पनि देश र जनताको पक्षमा ‘केही गर्ने’ चाहना राखेका छन् । उनले आफ्ना अभिव्यक्तिहरुमा यही कुरा दोहोर्याइरहेका हुन्छन् ।
उनीमाथि विपक्षी दल एमालेका प्रश्न र तराई–मधेसका समस्या सम्बोधन गर्ने अपेक्षा पनि छन्् । कूटनीतिक सन्तुलन, संविधान कार्यन्वयन, स्थानीय निकायको निर्वाचन र शान्ति प्रक्रियाको कामहरु टुङ्ग्यगाउनुपर्ने दायित्व पनि प्रचण्डका काँधमा छ ।
आफ्नो दायित्व र कार्यभार पूरा गर्न प्रचण्डले प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि नै कोसिस गरेका छन् । के प्रचण्ड आफ्नो सोचअनुसार काम गर्ने तरिकाले अगाडि बढेका छन् ? प्रचण्डले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेको १५ दिन भएको छ । उनले यो १५ दिनमा के–के काम गरे र के गर्न सकेनन् । रातोपाटीका संवाददाता शम्भु दङ्गालले प्रधानमन्त्री प्रचण्डका १५ दिनका कामको हिसाब–किताब उतारेका छन् ।
निर्वाचित भए….
माओवादी अध्यक्ष एवं संसदीय दलका नेता प्रचण्डले दोस्रो संविधान सभाको चुनावमा पहिलो स्थान हासिल गरेको नेपाली काङ्ग्रेसको समर्थनमा गएको साउन १८ गते प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । उनको उम्मेदवारीको प्रस्तावकमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा थिए भने समर्थकमा कृष्णबहादुर महरा, उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, जयदेव जोशी, चण्डश्वेर झा र कुमार खड्का थिए । निर्वाचनका एक्ला उम्मेदवार प्रचण्ड साउन १९ गते २ सय ६३ मत प्राप्त गरी निर्वाचित भए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन मार्फत बधाई दिए । चिनियाँ राजदूत उ चुन्ताई लाजिम्पाट निवासमै पुगेर चीन सरकारका तर्फबाट बधाई तथा कार्यकाल सफलताका लागि शुभकामना दिए ।
पहिलो दिन – साउन २० गते
–दिउँसो ३ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिए ।
–शपथ ग्रहणपछि लैनचौरमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गरे लगत्तै कीर्तिपुरको चम्पादेवी पुगेर पुष्पलाल स्मृति प्रतिष्ठानमा रहेको नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरे ।
–पुष्पलालको प्रतिमामा माल्यार्पणपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वर पुगी सहिद तथा बेपत्ता योद्धा स्मारकमा माल्यार्पण गरे ।
–साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालको ३९औं प्रधानमन्त्रीका रुपमा दोस्रोपटक पदभार ग्रहण गरे । पदभार ग्रहण गर्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, जनताको आर्थिक समृद्धि र सुशासन, भूकम्पपछिको पुनर्निर्माणमा तीव्रता दिने प्रतिबद्धता जनाए ।
–पदभार ग्रहणलगतै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीसहित तीन सदस्य मन्त्रिपरिषद्को पहिलो बैठकबाट केही निर्णयहरु गरे ।
पहिलो मन्त्रिपरिषद बैठकका निर्णय
–बाढी पहिरोका कारण ज्यान गुमाएका मृतकका परिवारलाई एक लाख दिने, सहिद तथा बेपत्ताका परिवारलाई पाँच लाख दिने पूर्ववर्ती सरकारको निर्णयलाई यथाशीघ्र कार्यान्वयन गर्ने निर्णय गरे ।
–तत्कालका लागि नेपाल सरकारका प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुरलाई दिने निर्णय गरे ।
–चार बुँदे निर्देशन जारी गर्यो
१– गरिब घर परिवारको पहिचान गरी आय आर्जन, शिक्षा, स्वास्थ्य, बिमा, तालिम, प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैङ्क तथा बजारसँग एकीकरण र खाद्यसुरक्षा जस्ता महत्वपूर्ण कार्यक्रमहरु समावेश गरी ‘गरिबका लागि सरकार’ कार्यक्रम सञ्चालन गर्ने ।
२– भूकम्प प्रभावित ३१ जिल्लाका ५ लाख ३३ हजार परिवारलाई ४५ दिनभित्र पहिलो किस्ता उपलब्ध गराई राहत र पुनर्निर्माणलाई तीव्रता दिने ।
३– चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरु ३ महिनाभित्र एकीकृत र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने ।
४– तोकिएको म्यादभित्र जन्म दर्ता गर्न आउने देशभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ताका लागि प्रोत्साहन स्वरुप रु. १००० प्रदान गर्नेलगायतका निर्देशन जारी गर्नुभएको हो ।
दोस्रो दिन – साउन २१ गते
–बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सङ्घीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग बैठक बसे । प्रधानमन्त्री निर्वाचनपूर्व नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय गठबन्धनबीच भएको तीन बुँदे सहमतिको कार्यान्वयनको विधि र प्रक्रिया लगायतका विषयमा छलफल गरे । साथै मधेस आन्दोलनका मृतकहरुलाई राहत, घाइतेहरुको क्षतिपूर्ति र भौतिक क्षतिको राहतसम्बन्धी मन्त्रिपरिषद्को बैठक बसेर आवश्यक निर्णय लिने प्रतिबद्धता जनाए ।
–मन्त्रिपरिपरिषद् बैठक डाकेर मधेस आन्दोलनका माग सम्बोधनको प्रयास गरे । मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनमा मृत्यु भएकाहरुलाई एक हप्ताभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत रु. १० लाख राहत उपलब्ध गराउने, घाइते भएकाहरुको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गर्यो ।
–अपाङ्गहरुको अभिलेख सङ्कलन गरी राहत उपलब्ध गराउने निर्णय गर्यो ।
–परराष्ट्र सेवाबाहेक सुनुवाइको प्रक्रियामा रहेका राजदूतहरुको निर्णय फिर्ता लिने निर्णय गर्यो । तर भदौ १ मा सर्वोच्चले यो निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
–अपराह्न ४ बजे निजी निवास लाजिम्पाटबाट प्रधानमन्त्रीको सरकारी निवास लाजिम्पाट सरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका कर्मचारी एवम् सुरक्षाकर्मी लगायतले स्वागत गरे ।
–सरकारी निवासमा रहेको सामान नै प्रयोग गर्ने बताउँदै अत्यावश्यकबाहेक अरु कुनै पनि सामान नकिन्न कर्मचारीलाई निर्देशन दिए ।
–साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेदरल्यान्ड जान लागेको आईसीसी विश्वक्रिकेट लिग र एसियाली कराँते टोलीका खेलाडीहरुलाई छुट्टाछुट्टै कार्यक्रमका बीच बिदाइ गरे ।
क्रिकेट र कराँते क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गरेको बताउँदै देशलाई आत्मविश्वास र भावनात्मक एकता कायम गर्न सफल भएको भन्दै खेलाडीलाई धन्यवाद दिए ।
तेस्रो दिन– साउन २२ गते
–दिउँसो वनस्थलीमा आयोजित गोरखा–काठमाडौं जनसम्पर्क मञ्चको कार्यक्रममा आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन अपवादबाहेक उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा नअल्झने बताए ।
चौथो दिन– साउन २३ गते
–प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरुलाई तीन दिनभित्र परिणाममुखी योजना पेश गर्न निर्देशन दिए ।
–४५ दिनभित्र भूकम्प प्रभावितलाई पहिलो किस्ताको ५० हजार रुपियाँ राहत सबैको हातमा पुर्याउन र तीन महिनाभित्र ग्रामीण भेगमा चिकित्सक पठाइ सक्न निर्देशन दिए ।
पाँचौँ दिन–साउन २४ गते
–नेपालका लागि अमेरिकी राजदूत अलेना बी. टेप्लिट्ससँग बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपालको शान्ति, संविधान र समसामयिक राजनीतिबारे छलफल गरे ।
–परराष्ट्र सचिव शङ्करदास बैरागीलाई टेलिफोन गरी साउदी अरब र श्रीलङ्कामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत दिन र नेपाल आउने वातारण निर्माण गर्न निर्देशन दिए ।
–प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरुसँग बैठक बसी सरकारको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिए ।
–पुनर्निर्माणलाई प्रभावकारी बनाउन र २०७४ माघ ७ भित्र सबै तहका निर्वाचन सम्पन्न गर्नका लागि परिणाममुखी काम गर्न निर्देशन दिए ।
–दोस्रो चरणमा साउन २४ मा मन्त्रिपरिषद् विस्तार गरे । आपूर्तिमन्त्री मन्त्री दीपक बोहोरा, भूमिसुधार मन्त्री विक्रम पाण्डे र वातावरण मन्त्री जयदेव जोशीलाई आफ्नो मन्त्रिपरिषद्का सदस्य बनाए । मन्त्रिपरिषद् विस्तारपूर्व राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका थिए ।
छैठौँ दिन– साउन २५ गते
–नेपाल पत्रकार महासङ्घको टोलीसँग प्रधानमन्त्री निवासमा भएको भेटमा श्रमजीवी पत्रकारहरुको मागबारे आफू संवेदनशील भएको बताए । त्यसै दिन मिडिया सोसाइटीका प्रतिनिधिसँग पनि भेट गरे ।
–दिउँसो २२औं विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासङ्घले काठमाडौंमा गरेको कार्यक्रममा सहभागी भए ।
–अर्को वर्षदेखि यो कार्यक्रम महासङ्घसँग समन्वय गरी सरकारले नै आयोजना गर्ने प्रतिबद्धता जनाए ।
सातौँ दिन– साउन २६ गते
–बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपालस्थित जापानी राजदूत मासासी ओगावासँग भेटवार्ता गरे । भेटमा राजदूत ओगावाले नेपाल सरकारलाई जापानको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
–जवाफमा प्रधानमन्त्री प्रचण्डबाट जापान नेपालको नजिकको साथी भएकाले नेपालको दुःखसुखमा प्राप्त भएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि साथ रहने अपेक्षा व्यक्त गरे ।
–बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा रिपोटर्स् क्लबका प्रतिनिधिसँगको भेटमा महँगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न मातहतका निकायलाई निर्देशन दिएको बताए ।
–सगरमाथा आरोही सङ्घका प्रतिनिधि मण्डलसँग सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपालमा हिमालसम्बन्धी अध्ययन गर्ने एकेडेमी स्थापना गर्न पहल गर्ने बताए ।
–काठमाडौंको ठमेलस्थित नर्सिङ चोकको जनकवि दुर्गालाल श्रेष्ठको घरमा साउन २३ गते आगलागीबाट भएको क्षतिको स्थलगत अवलोकन गरे ।
–प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारमा सहभागी राजनीतिक दल र राज्य पुनर्संरचना आयोगका सदस्यहरुको संयुक्त बैठकमा सहभागी । बैठकलाई सम्बोधन गर्दै राज्य पुनर्संरचना राजनीतिक सवाल भएकाले सर्वदलीय बैठकको आयोजना गरेर थप निर्णय लिने बताए ।
आठौँ दिन– साउन २७ गते
–मन्त्रिपरिषद्को बैठकबाट नेपाल र दुई छिमेकी देशबीचको सम्बन्ध सुमधुर गर्न प्रधानमन्त्रीको विशेष दूतको रुपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरे । महरा चीन भ्रमणमा गए भने निधि भदौ २ मा भारत भ्रमणमा गए ।
–महँगी, कालोबजारी, कृत्रिम अभाव र मिसावट रोक्न गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए ।
–बैठकले मिसावट, कालोबजारी र कृत्रिम अभावबारे भएको कानुनी व्यवस्थामा थप कडाइ गर्न ऐन संशोधनको प्रस्ताव ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिए ।
–प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पोखरा विश्वविद्यालयको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गरे । राष्ट्रिय आवश्यकता र उत्पादित शैक्षिक जनशक्तिबीच तालमेल हुनुपर्ने बताए ।
नवौँ दिन– साउन २८ गते
–राष्ट्रिय सतर्कता केन्द्र स्थापनाको १४औं वर्ष पूरा गरेको अवसरमा आयोजित वार्षिक स्थापना एवं वार्षिक प्रतिवेदन हस्तान्तरण समारोहलाई सम्बोधन गरे । सुशासनलाई प्रत्याभूति गर्ने गरी सरकारी संरचनाहरुलाई प्रभावकारी र परिणाममुखी बनाउन कर्मचारीहरुलाई आग्रह गरे ।
–साँझ सरकारका परराष्ट्र सचिव शङ्करदास बैरागीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाई खाडी मुलुकका जेलमा रहेका नेपालीहरुको ठोस तथ्याङ्क दिन निर्देशन दिए । खाडी मुलुकमा बन्दीजीवन बिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे जानकारी लिए । परराष्ट्र सचिव बैरागीले रामचन्द्र तिमिल्सिनाको सहयोगमा निजी क्षेत्रबाट २८ लाख रुपिया सङ्कलन भएको जानकारी दिए ।
–दिउँसो परराष्ट्र सचिवलाई बोलाएर खाडी मुलुकका जेलमा रहेका नेपालीहरुको तथ्याङ्क तत्काल आफूलाई बुझाउन निर्देशन दिए । साउदी, कतार, मलेसियालगायतका खाडी मुलुकमा बन्दी जीवन बिताइरहेका, कम्पनी टाट पल्टिएर कामविहीन नेपालीहरुको ठोस तथ्याङ्कका आधारमा सरकारले आवश्यक निर्णय गर्ने बताए ।
दसौँ दिन– साउन २९ गते
– बिहान प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त राष्ट्र सङ्घका शरणार्थीका लागि उच्च आयुक्त नेपाल प्रतिनिधि केभिन अलेनसँग भेट गरे । भेटमा अलेनले भुटानी शरणार्थी समस्या समाधानबारे संयुक्त राष्ट्र सङ्घले पहल गरिरहेको प्रधानमन्त्रीलाई जानकारी गराए ।
–प्रधानमन्त्री प्रचण्डले अलेनलाई शरणार्थीको समस्या समाधानमा सहजीकरण गरी दिन आग्रह गर्दै नेपालले संविधानको कार्यान्वयन गर्दै शान्ति, स्थिरता र समृद्धिको दिशामा अगाडि बढ्ने जानकारी गराए ।
एघारौँ दिन– साउन ३० गते
– बिहानै स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई टेलिफोन गरे । नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरहरुले बिरामी जाँच गरिरहेको भन्दै उनीहरुलाई तत्काल बिरामी जाँचबाट रोक्न निर्देशन दिए ।
–तेस्रो पटक मन्त्रिपरिषद् बिस्तार गरे । जनार्दन शर्मा (ऊर्जा मन्त्रालय), सुरेन्द्रकुमार कार्की (सूचना तथा सञ्चार), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना विभागीय) थपे ।
–माओवादी कोटाबाट चारजना राज्यमन्त्री पनि थपे । राज्यमन्त्रीहरुमा श्रीप्रसाद जबेगु (सङ्घीय मामिला तथा स्थानीय), सत्यनारायण भगत (ऊर्जा), राधिका तामाङ (कृषि) र धनमाया विक (विना विभागीय) राज्यमन्त्री रहेका छन् ।
बाह्रौ दिन– साउन ३१ गते
–बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिलाई भेटे । निजी क्षेत्रको सहकार्यमा आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए ।
–दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गृह, उद्योग, वाणिज्य तथा आपूर्तिलगायतका मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुको संयुक्त बैठक डाके । मूल्यवृद्धि गर्ने व्यापारीहरुलाई र्यापिड एक्सन प्लानमा कारवाही गर्न निर्देशन दिए ।
तेह्रौँ दिन– साउन ३२
–नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष एवं आफ्ना पूर्वसहकर्मी मोहन वैद्यको नेतृत्वमा आएका सुकुम्बासी प्रतिनिधिको ज्ञापनपत्र बुझे । सुकुम्बासीका समस्या समाधानमा सरकारले अधिकतम् पहल गर्ने बताए ।
–पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा रामेछापको दोरम्बा हत्याकाण्डका सहिदहरुको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी भए ।
–सहिद तथा बेपत्ता योद्धाका परिवारसँग प्रधानमन्त्री कार्यालयमा सामूहिक भेट गरे । पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदहरुलाई राज्यबाट सहिद घोषणा गर्ने र १० लाख दिने निर्णय गरेअनुसार अहिले दोस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि बाँकी ५ लाख दिने निर्णय गरेको जानकारी दिए ।
– गएको महिना अफगानिस्तानको काबुलमा १३ जनाको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न बनेको श्रम सचिव विष्णु लम्सालको नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदन बुझे । प्रतिवेदन अध्ययन गरेर यसबारे मन्त्रिपरिषद्को बैठकमा छलफल गरी निर्णय गरिने बताए ।
–सिंहदरबारमा अपरान्ह नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र सङ्घीय गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक डाके । स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन पेश गर्ने कार्यतालिकालाई २ हप्ताका लागि थप गर्ने समझदारी गरे ।
चौधौँ दिन– भदौ १ गते
–बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितलाई घर बनाउन सहयोग गरिरहेका चर्चित हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीलाई भेटे । आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरे ।
–दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बङ्गलादेशको सुरक्षा अधिकारीको टोलीसँग भेटवार्ता गरे । प्रधानमन्त्री प्रचण्डले भूकम्पपछिको उद्धार र राहतमा बङ्गलादेश र त्यहाँको सुरक्षा संयन्त्रले गरेको सहयोग र समन्वयप्रति आभार प्रकट गरे ।
र पन्ध्रौँ दिन– भदौ २ गते
–बिहान प्रधानमन्त्री निवास बालुवाटारमा साझा यातायातका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेलाई बोलाए । काठमाडौंको ट्राफिक जाम, यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे छलफल गरी काम अघि बढाउन ध्यानाकर्षण गराए ।
–बिहान ११ बजे प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेर ४ वटा निर्णय गराए ।
१–तराई–मधेस आन्दोलनको आन्दोलनका क्रममा भएको भौतिक क्षतिको छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिसचन्द्र लालको नेतृत्वमा ७ सदस्ययीय आयोग गठन गर्ने ।
२–काबुल घटनामा परी मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने क्रममा लागेको खर्च सरकारले तुरुन्त भुक्तानी गर्ने ।
३– तराई–मधेस आन्दोलनका क्रममा मारिएका ११ जना सुरक्षाकर्मी र ४१ जना आन्दोलनकारीका परिवारलाई दस लाखको दरले क्षतिपूर्ति दिने ।
४– स्थानीय तहको निर्वाचन सम्पन्न गर्न विधेयक तयार पार्न सैद्धान्तिक स्वीकृति दिने ।
प्रधानमन्त्रीका निर्णयमाथि विपक्षीको ‘अब्जेक्सन’
–केपी ओली नेतृत्वको सरकारले विभिन्न देशका लागि सिफारिस गरिएका १४ राजदूत फिर्ताबारे एमाले र राप्रपा नेपालले विरोध गरे । यस विषयमा एमाले कोटाबाट राजदूत निकट व्यक्तिले सर्वोच्चमा रिट दायर गरे । भदौ १ गते सर्वोच्चले निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
प्रधानमन्त्रीले गर्न सकेनन्
–मन्त्रिमण्डल बिस्तार गरी पूर्ण बनाउन सकेनन् ।
–सङ्घीय गठबनधनलाई ३ बुँदे सम्झौता गरी प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहयोगीका रुपमा ल्याए तर सरकारमा भित्र्याउन भने सकेनन् ।
–माओवादीका विभिन्न घटकबाट एकता प्रक्रियामार्फत आएका कार्यकर्ताहरुलाई मिलाउन सकेनन् ।
–विपक्षी एमालेलाई अझै आश्वस्त पार्न सकेका छैनन् । ओलीसँगको सम्बन्धमा सुधार गर्न सकेनन् ।
जुन निर्णय विवादमा परे
–महिलालाई फुलमन्त्री नबनाएकोमा पार्टीभित्र र बाहिरबाट समेत चर्को आलोचना भयो ।
–पुत्र प्रकाश दाहाललाई निजी सचिवालयमा ल्याएको पनि पार्टीभित्रै असन्तुष्टि देखियो ।
–प्रधानमन्त्रीका विभिन्न सल्लाहाकारका लागि चाहिने शैक्षिक योग्यताको पूर्ववत मापदण्ड (स्नातकोत्तर) हटाए, जसको विवाद भयो ।
प्रधानमन्त्री प्रचण्डका १५ दिनको काममाथि उनका स्वकीय सचिव रमेश मल्ल भन्छन्
–प्रधानमन्त्री प्रचण्डको कामको समीक्षा गरिहाल्ने बेला त भएको छैन । बाहिरबाट पनि आमनागरिकले आफ्नो तरिकाबाट विश्लेषण गरिरहेका नै छन् ।
–प्रधानमन्त्रीले यो छोटो अवधिमा आफ्नो द्रुत निर्णय क्षमता र गतिशीलता देखाउनुभएको छ ।
–राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिदृश्यलाई विश्लेषण गर्दै कतिपय दूरगामी महत्वका विषयमा निर्णय गर्नुभएको छ । सरकारले तय गरेका प्राथमिकताको रोडम्याप तय गरिरहनुभएको छ ।
–पहिलो कुरा त संविधानलाई सर्वस्वीकार्य बनाउन र कार्यान्वयन गराउन विपक्षीको अवस्थामा रहेको मधेसवादी दलहरुलाई राष्ट्रिय मुद्दाका हरेक छलफलमा सहभागी गराउन थाल्नुभएको छ । यो भनेको संविधानको सर्वस्वीकार्यतालाई बढाइरहेको छ ।
–देशमा एउटा अपोजिसनको रुपमा मधेस उभिरहेको अवस्थामा मधेसका कैयौं मुद्दाहरुलाई सम्बोधन गर्दै जाने र आन्तरिक राष्ट्रिय एकता बलियो बनाउने र संविधानलाई कार्यान्वनको दिशामा लिएर जाने कुरामा सरकारले सफलताको एउटा बाटो समातेको छ ।
–तेस्रो पक्ष भूकम्पपछिको पुर्ननिमार्ण हो । यो निकै संवेदनशील पक्ष हो । ४५ दिनभित्र पहिलो किस्ताको रकम वितरण गर्नेबारे प्रधानमन्त्रीको घोषणापछि काम पनि अघि बढिरहेको छ । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कामको तालिका नै बनाएर अगाडि बढिरहेको छ ।
–अहिले मुलुकमा मूल्यवृद्धि, कालोबजारी भ्रष्टाचार व्याप्त भइरहेको अवस्थामा सुशासन कायम गर्ने चुनौती छ । त्यो चुनौतीलाई पार गर्नुपर्छ भन्ने सरकारको अर्को प्राथमिकता हो । यो बीचमा प्रधानमन्त्रीले जनसरोकार र जनजीविकको विषयमा जनतालाई बढी सेवा प्रवाह गर्नुपर्ने निकायअन्तर्गतका मन्त्रालयका सचिवलाई बोलाएर सुरक्षा अङ्गका सबै प्रमुखहरुलाई राखेर अनुगमनको टिम तयार गरेर निर्देशन दिएर पठाउनुभएको छ ।
–संविधान कार्यान्वयनका दृष्टिबाट हेर्दा, राष्ट्रिय एकता कायम गर्ने दृष्टिबाट हेर्दा, भूकम्पपछिको पुनर्निर्माणका लागि राहत वितरणको दृष्टिबाट हेर्दा, सुशासन कार्यान्वयन गर्ने दृष्टिबाट हेर्दा, प्रधानमन्त्रीले तोकेका चार पाँचवटा प्राथमिकताका क्षेत्रमा घोषणा मात्र नभई कामहरु पनि सुरु भइसकेका छन् ।
–अर्को महत्वपूर्ण पक्ष भनेको शान्ति प्रक्रिया हो । शान्ति प्रक्रियालाई अगाडि बढाउन अघिल्ला सरकारले गरेका निर्णयमा टेकेर बेपत्ता छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका काम अगाडि बढेका छन् । यसका लागि आवश्यक विधेयक निमार्ण गर्नु, कानुन परिमार्जन गर्नु र यसलाई तार्किक निष्कर्षमा पुर्याउनु सरकारको प्राथमिकता हो ।
–अर्को कुरा राष्ट्रिय परिवेशमा दैनिक रुपमा आइपर्ने कतिपय राजनीतिक र जनसरोकारका घटनाक्रमहरुलाई फास्ट ट्र्याकमा कसरी समाधान गर्ने विषयमा सरकारले काम गरिरहेको छ ।
धेरै राजदूतले भेटे
–गएको २ सातामा बधाई तथा शुभकामना ज्ञापनका निम्ति विदेशी कूटनीतिक नियोगका व्यक्तित्वहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।
–साउन १९ गते – चिनियाँ राजदूत उ चुन्ताईले साँझ निजी निवास लाजिम्पाट गई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
–साउन २० गते– भारतीय राजदूत रन्जित रायले बिहान निजी निवास लाजिम्पाटमा गई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
–साउन २१ गते– बेलायतका राजदूत रिचार्ड मोरिस र डीएफआईडीका नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले बिहान निजी निवास लाजिम्पाटमा भेटी सफलताको शुभकामना दिए ।
–साउन २४ गते– अमेरिकी राजदूत अलेना बी. टेप्लिट्सले बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई ज्ञापन गर्दै छलफल गरिन् ।
–साउन २५ गते – बिहान प्रधानमन्त्री निवास बालुवाटारमा चाइना इन्स्टिच्यूट अफ कन्टेम्पोररी रिलेसन्सको टोलीले भेट गर्यो । भेटमा चिनियाँ टोलीले भूकम्पको पुनर्निर्माणमा चिनियाँ अनुभवको आदान–प्रदान एवं सहयोग गर्न र ठूला परियोजनामा सहयोग गर्न चीन तत्पर रहेको जानकारी गरायो । प्रधानमन्त्री प्रचण्डले नेपालले चीनसँगको सम्बन्ध भरपर्दो र दीर्घकालीन बनाउन चाहेको भन्दै दुई ठूला देशहरुसँग त्रिदेशीय सम्बन्ध स्थापित गर्न सरकार इच्छुक रहेको बताए ।
–साउन २६ गते– बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपालस्थित जापानी राजदूत मासासी ओगावासँग भेटवार्ता ।
–साउन २९ गते– प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त राष्ट्र सङ्घका शरणार्थीका लागि उच्च आयुक्त नेपाल प्रतिनिधि केभिन अलेनले भेट गरे । उच्च आयुक्त अलेनले बधाई ज्ञापन गर्दै भुटानी शरणार्थी समस्या समाधानबारे संयुक्त राष्ट्र सङ्घले पहल गरिरहेको बताए ।
–साउन ३१ गते– संयुक्त अरब इमिरेट्सका राजदूत साइद हमदान मोहम्मल अल नक्वीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट गरे ।
–भदौ १ गते– दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बङ्गलादेशको सुरक्षा अधिकारीको टोलीसँग भेटवार्ता गरे ।
१५ दिनमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णय
–४ पटक मन्त्रिपरिषद् बैठक बस्यो ।
–बाढी पहिरोबाट ज्यान गुमाएका मृतकका परिवारलाई रु. एक लाख दिने ।
–भूकम्प प्रभावित ३१ जिल्लाका ५ लाख ३३ हजार परिवारलाई ४५ दिनभित्र पहिलो किस्ता उपलब्ध गराई राहत र पुनर्निर्माणलाई तीव्रता दिने ।
–तराई–मधेस आन्दोलनका क्रममा मृत्यु भएका ११ जना सुरक्षाकर्मी र ४१ जना आन्दोलनकारीका परिवारलाई दस लाखको दरले क्षतिपूर्ति दिने ।
–महँगी, कालोबजारी, कृत्रिम अभाव र मिसावट रोक्न गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन ।
–परराष्ट्र सेवाका बाहेक सुनुवाइको प्रक्रियामा रहेका राजदूतहरुको निर्णय फिर्ता लिने निर्णय ।
–खाडी मुलुकमा बन्दीजीवन बिताइरहेका रामचन्द्र तिमिल्सिनाको उद्धारका लागि परराष्ट्र सचिव शङ्करदास बैरागीलाई निर्देशन ।
–नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरहरुबाट बिरामी जाँचबाट रोक्न स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाइ निर्देशन ।
–शनिबार नेपाल टेलिभिजनबाट प्रसारण हुने जनतासँगको अन्तक्र्रियात्मक कार्यक्रम सीधा कुरा प्रधानमन्त्रीसँगमा २ पटक सवाल जवाफमा सहभागी भए ।
र, जनसम्पर्क सल्लाहकार आचार्यले भनेजस्तै प्रधानमन्त्री प्रचण्डले जनताको पक्षमा कति काम गर्छन् ? त्यो भने भविष्यले नै बताउला ।
स्रोत : रातो पाटि
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses