‘म बाँच्न चाहन्छु ।किनकि, जीवन अमूल्य छ
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

कालोपुलको मुख्य सडकसँगै जोडिएको एउटा पुरानो घर, जुन भुइँचालोले चिरा परेर जीर्ण बनेको छ।

भित्र छिर्ने ढोका यति होचो छ, आधा निहुरिँदा पनि टाउको ठोक्किने डर हुन्छ।

कोठा यति साँघुरो छ, मसँगै गएका सहकर्मी फोटोपत्रकारलाई भित्र बसेर फोटो खिच्नै गाह्रो पर्यो। उनी ढोकामै बसिरहे।

कोठामा एउटा खाट छ। टिभी राख्ने सिसाको टेबललाई नै भान्छा बनाइएको छ। त्यसैमाथि एकमुखे ग्यास चुह्लो ठिक्क अटाएको छ। दुइटा ब्रिफकेस छन्। एउटा ग्यास सिलिन्डिर छ। तीस किलो चामलको बोरा छ। देब्रेतिर भित्ताको खोपामा शिवको मूर्ति छ। केही खेलौना छन्। पानीका बोतल छन्। र, औषधिका थुप्रै प्याकेट छन्।

झरी परेका बेला त यो कोठामा बस्नै सकिन्न। भित्ताबाट रसाएर आएको पानी भुइँमा जमेर आहाल बन्छ।

यही कोठामा तीन महिनादेखि सकसको जीवन बिताइरहेकी छन्, कुनै बेलाकी चर्चित कलाकार तथा नर्तकी लक्ष्मी राणा।

हामी भेट्न जाँदा घर र कोठाको दुर्दशा देखेर अलमलिन्छ भनेर होला, उनी बाहिर सडकसम्मै लिन आइन्। उनले फोनमै भनेकी थिइन्, ‘घर थोत्रो छ, कोठा एकदमै सानो छ, तपाईंलाई अप्ठ्यारो लाग्दैन भने यहीँ आउनुस्।’

पुगेपछि थाहा भयो, घर मात्र होइन, उनी आफैं पनि घरजस्तै दुर्बल भइसकेकी रहिछन्।

जीउमा पुग्दो रगत पनि थिएन सायद, उनको अनुहारै सुख्खा र कालो थियो। ज्यान दुब्लाएर एकमुठी थियो। कमजोरीले होला, राम्ररी हिँड्नधरि सकेकी थिइनन्, लर्खराइरहेकी थिइन्।

कोठाभित्र छिर्नुअघि हामीले जुत्ता फुकाल्न खोज्यौं। उनले रोक्दै भनिन्, ‘भो पर्दैन, यत्तिकै आउनू।’

हामी भित्र छिर्यौं।

देब्रे भित्तामा एउटा रंगीन तस्बिर टाँगिएको छ। घना जंगलको बीचमा नदी बगेजस्तो कपालको बीचमा सर्लक्क सिउँदो काटेको एक सुन्दर महिलाको तस्बिर। त्यसको ठिक अगाडि दाहिने भित्तामा अर्को फ्रेम झुन्डिएको छ, श्यामश्वेत तस्बिर बोकेर।

सँगै, एउटा बीमा कम्पनीको भित्तेपात्रो छ, जसमा लेखिएको छ, ‘किनकि जीवन अमूल्य छ।’

लक्ष्मीलाई हरेक दिन यो भित्तेपात्रो नहेरी हुन्न। दिन, गते, बारको खाँचो परेर मात्र होइन, त्यहाँ उनले हरेक बिहान प्रार्थना गर्ने भगवान शिवको तस्बिर छ। आफू कुन दिन अस्पताल जाने र सहयोगका लागि कुन दिन कसलाई भेट्नेजस्ता तिथिमिति पनि त्यही पात्रोमा टिपेकी छन्।

पात्रोले वर्तमान भन्छ। तर, कहिलेकाहीँ यही पात्रोले उनलाई दसवर्षे विगत पनि सम्झाइदिन्छ। जब पात्रोका पन्ना पल्टिँदै जान्छन्, उनलाई आफ्नो जीवन बढ्तै अत्यास लाग्न थाल्छ। उनी गणना गर्न थाल्छिन्, अझै कति वर्ष यसरी दीनहीन बिताउनुपर्ने हो!

उनी घरिघरि पात्रोबाट नजर उठाएर भित्तामा झुन्डिएका तस्बिरतिर हेर्छिन्। एकातिर श्यामश्वेत आमा छिन्, अर्कातिर रंगीन आफू। मन त्यसै हुँडलिएर आउँछ। लाग्दो हो, तस्बिर मात्र रंगीन हो, जिन्दगीका त सारा रंग उहिल्यै उडिसके।

उनी उडेका ती रंगहरू छोप्न चाहन्छिन्। तर, स्मृतिले धोका दिइसक्यो। जतिसुकै दिमागमा जोड दिँदा पनि चित्रहरू प्रस्ट खुलेर आउँदैनन्। उनी कोरिएको सिडीबाट चल्ने फिल्मजस्तै अड्कीअड्की आफ्नो सम्झनाको पोयो फुकाउँछिन्।
...


‘यो त नर्तकी होला जस्तो छ!’

लक्ष्मीलाई चिन्नेजान्नेहरू सानैदेखि यस्तै भन्थे।

हुन पनि चार कक्षा पढ्दा स्कुलको साँस्कृतिक कार्यक्रमबाट नाच्न थालेकी लक्ष्मीको ख्याति कलिलो उमेरमै वीरगन्जभरि फैलिइसकेको थियो। एसएलसी दिँदासम्म कार्यक्रमबाट पाउने पुरस्कारले घर भरिएको थियो। नृत्य मन पराउनेबाट पाएको ‘टिप्स’ त कति कति! 

निम्न आर्थिक अवस्थाको परिवारमा हुर्किएकीले उनले सानैबाट पैसाको महत्व बुझेकी थिइन्। नृत्यबाट जुटेको पैसा बचत गर्थिन्। पढाइमा पनि अब्बल थिइन्। नाच र पढाइ दुवै हेरेर स्कुलले उनलाई छात्रवृत्ति दियो।

अभावको बीच पनि लक्ष्मीको जिन्दगी रंगीन थियो।

उनी १४ वर्षकी थिइन्, जब उनको रंगीन जिन्दगीमा पहिलो कालो धर्सा कोरियो। 

एकै वर्ष उनको घरमा लगालग तीन जनाको मृत्यु भयो। सबभन्दा पहिला, प्यारालाइसिस भएका हजुरबा बिते। त्यसको केही महिनामै कालज्वरले बाबुलाई लग्यो। अर्को चार महिनामा जन्डिस भएर आमाले पनि धर्ती छाडिन्। 

लक्ष्मी आमालाई सबैभन्दा धेरै माया गर्थिन्। आफूले सबभन्दा माया गर्ने मान्छे गुमाएपछि उनलाई वीरगन्जमा बस्न मन भएन। केही महिनामै एसएलसी पनि सकियो। उनी चार वर्ष कान्छो भाइलाई लिएर काठमाडौं आइन्।

‘वीरगन्जकै विजया (गिरी) दिदी प्रज्ञा प्रतिष्ठानमा काम (गायिका) गर्नुहुन्थ्यो। उहाँकै सहयोग पाएर म प्रतिष्ठानमा नाच सिक्न थालेँ। राम्रो नाच्न जानेकैले ६ महिनामै फ्रान्स जाने मौका पाएँ। त्यहाँबाट फर्किएको केही समयपछि नै जापान गएँ,’ लक्ष्मीले आफ्ना सुनौला दिनका एल्बम एकपछि अर्को पल्टाउँदै गइन्।

त्यतिबेला जापानमा सान्थारो नामका एक व्यक्ति थिए। नेपाली युवतीसँग बिहे गरेका सान्थारोले नेपालका कलाकारलाई जापान लगेर साँस्कृतिक कार्यक्रम आयोजना गर्थे। पाँचदेखि सात जनाको समूहमा जाने कलाकारले ६ महिनासम्म मात्र बस्न पाउँथ्यो। लक्ष्मी पनि यसरी नै चारपटक जापान पुगेकी थिइन्। उनको नृत्य जापानका साँस्कृतिक कार्यक्रममा खुबै रुचाइन्थ्यो।

जापान मात्र होइन, स्विट्जरल्यान्ड, स्पेनमा पनि उनको नाचले धेरैलाई मोहित पारेको थियो।

लोकदेखि आधुनिक नृत्यसम्म पारंगत लक्ष्मी पछि ‘कोरियोग्राफी’ पनि गर्न थालिन्। काठमाडौंमा उनको नृत्य प्रस्तुति र कोरियोग्राफी मन पराउने थुप्रै थिए।

केही नाटकमा समेत अभिनय गरेकी लक्ष्मी नेपालको पहिलो टेलिश्रृंखलाकी नायिकासमेत हुन्। नेपाल टेलिभिजन खुलेपछि रमेश बुढाथोकीको निर्देशनमा बनेको ‘बाचा बिर्सेको छैन’ मा नायिका लक्ष्मी नै थिइन्। उनको अभिनय खुबै रुचाइएको थियो। त्यसपछि उनले एक साँझ, निमित्त नायक लगायत टेलिशृंखलामा पनि मुख्य भूमिकामा अभिनय गरिन्। ‘मनकामना’ फिल्ममा समेत उनले अभिनय गरेकी छन्।

पारिश्रमिक नदिने, सकेसम्म शारिरिक शोषण गर्न खोज्ने स्वभावका पुरुषको दबदबाका कारण विस्तारै उनलाई फिल्मी दुनियाँदेखि विरक्त लाग्न थाल्यो। 

उनी नृत्यतिरै बढी केन्द्रित भइन्।

यसको एउटा कारण के पनि हुनसक्छ भने फिल्मक्षेत्रभन्दा नृत्यमा कमाइ बढी थियो। विदेशको कार्यक्रममा जान पाए झन् बढी कमाइ हुन्थ्यो। एकचोटि छ महिना जापान बसेर नृत्य देखाउँदा करिब ६ लाख रुपैयाँ लक्ष्मीको हात पर्थ्यो।

उनी फुर्मास गर्दिन थिइन्। जोगाएको पैसाले काठमाडौंमा जग्गा किनिन्। एकतले घर बनाउने पैसा जोरजाम गर्न खोज्दा साथीहरूले ठूलै घर बनाउन सुझाए। उनी थप पैसा कमाउने उपाय खोज्न थालिन्।

यही क्रममा कार्यक्रम गर्न जापान गएकी लक्ष्मीले उतै लुकेर मोबाइल कम्पनीमा काम गरिन्। काठमाडौंमा ठूलो घर बनाउनु उनको एउटै सपना थियो।

मोबाइलमा ‘कि–प्याड’ टाँस्ने काम थियो उनको। टाँस्ने रसायनको कडा रागले नाकै पिरो हुन्थ्यो। उनी त्यही राग सहँदै रातदिन खटिएर काम गर्थिन्। महिनामै एक लाख रुपैयाँसम्म बच्थ्यो। जतिसक्दो छिटो घर बनाउन पैसा जम्मा गर्ने र नेपाल फर्कने उनको योजना थियो। काठमाडौं फर्केपछि उनी बिहे पनि गर्न चाहन्थिन्।

नृत्य र अभिनयमा लाग्दा उनको सुन्दरताको खुबै चर्चा हुन्थ्यो। वीरगन्ज र काठमाडौंमा उनी ‘ब्ल्याक ब्युटी’ कहलिएकी थिइन्। प्रेम गर्छु भन्नेहरू थुप्रै थिए। तर, खोजेजस्तो केटा नपाउँदा बिहे नगरेको उनको भनाइ छ। 

यस्तै सपनामा उडिरहँदा एक्कासि पेट दुख्ने र पिसाब पोल्ने समस्याले उनलाई गाँज्यो। उनी अस्पताल गइन्। डाक्टरले ६ महिनाका लागि इन्फेक्सनको औषधि दिए। उनी तैपनि दिनप्रतिदिन गल्दै जान थालिन्। खानमा अरुचि बढ्दै गयो। शरीर कमजोर भएर पहिलेजस्तो काम गर्न नसक्ने भइन्। अनुहारको रङ फुङ्ङ उड्यो।

उनी फेरि अस्पताल गइन्। डाक्टरले परीक्षण गरे। केही दिनमा रिपोर्ट आयो, ‘मिर्गौला फेल।’

‘त्यतिबेला त म रोइनँ,’ लक्ष्मीले मिर्गौला फेल भएको सुन्दाको घडी सम्झिइन्, ‘म त पूरै होस हराएजस्तो भएँ। कोठामा आएर दिनभरि रोएँ। त्यसपछिको चार महिना त म पूरै बेहोसजस्तै भएछु, के भयो, केही याद छैन।’

जापानमा कमाएको पैसा उपचारमै सक्किन थाल्यो। उनी पहिलेजस्तो काम गर्न पनि नसक्ने भइन्। त्यो उनका लागि सबभन्दा कष्टकर समय थियो। आफू चाँडै मर्दैछु भन्ने लागेपछि उनले काठमाडौंमा रहेका भाइ सम्झिइन्। र, तुरुन्तै नेपाल फर्किइन्। 

‘महिनाको लाखसम्म कमाउने म नेपाल फर्किँदा साथमा यतैबाट लगेका नेपाली नोट मात्र थिए,’ उनले भनिन्।

उनको साथमा उपचार गर्ने पैसा पनि थिएन। उनी काठमाडौंमा सस्तो उपचार गराउने ठाउँ खोज्दै वीर अस्पताल पुगिन्। उनमा मिर्गौलासँगै पित्तथैलीको समस्या पनि देखियो। 

रोगमाथि रोग थपिएपछि उनले पहिले जोडेका जग्गा र अरू अचल सम्पति बेच्दै उपचार गराउन थालिन्। विस्तारै गरगहना पनि बेच्नुपर्यो।

सानैमा आमाले छाडेर गएकाले भाइ र उनीबीच गहिरो माया थियो। उनी बिरामी भएका बेला भाइले नै स्याहार गरेका थिए। तर, एक्कासि भाइको पनि जन्डिसले थलिएर ज्यान गयो।

उनी यो संसारमा पूरै एक्लो भइन्।

उनको रंगीन संसारका सारा रंगहरू एक–एक गर्दै पखालिँदै गए।

उनी रंगहीन भइन्।

पीडाको यति ठूलो भार सहने तागत सायदै कसैमा हुन्छ। उनको मस्तिष्कका लागि पनि त्यो भार यति ठूलो थियो, उनले थाम्नै सकिनन्।

‘भाइ बित्नुअघि त आमाको खुबै याद आउँथ्यो,’ लक्ष्मीले भनिन्, ‘भाइ बितेपछि आमासँग जोडिएका कुरा पनि बिर्संदै जान थालेँ। अब त आफ्नै पिरले भाइका कुरा पनि उति सम्झन सक्दिनँ।’

आशा र निराशाका उतारचढावबीच समय बित्दै गए। उनको भएभरको कमाइ र जायजेथा सक्कियो। समय यस्तोसम्म आयो, पैसा नभएकै कारण उनले औषधिसम्म किन्न सकिनन्। त्यतिबेला चाहिँ उनलाई लाग्यो, ‘बरु चाँडै मर्न पाए नि हुन्थ्यो!’

तर, मृत्यु उनले सोचेजस्तो सजिलो थिएन।

न उनले चाहेजस्तो गरी सास गयो, न व्यथा गयो।

उनले आफ्नो उपचारका लागि हारगुहार गर्ने निर्णय गरिन्। उनी थला परेको खबर विस्तारै फैलिँदै गयो।

‘साथीहरूले पनि समयमा किन नभनको भनेर गाली गरे,’ उनले भनिन्, ‘म पहिलेदेखि यस्तै थिएँ। यसलाई घमण्डी भनुँ कि स्वाभिमानी थाहा छैन, मैले कसैको सहयोग लिन्नँ भनेर अड्डी नै कसेको थिएँ। तर, सकिनँ। अहिले भने समयमै सहयोग किन मागिनँ भनेर पछुतो लाग्छ।’

उपचारमा अहिलेसम्म कति खर्च लाग्यो उनले हिसाब गरेकी छैनन्। सहयोगका लागि गुहार मागेपछि धेरथोर सहयोग जुट्न थालेका छन्। ‘उबेला खुट्टा बजारेको अहिले आएर काम लाग्दैछ, नाट्यश्वरको कृपाले,’ खोपामा रहेको शिवको मूर्तिलाई नमस्कार गर्दै उनले भनिन्।

रोगले घर बनाएर लक्ष्मीको शरीर कमजोर पारे पनि आँत गलाउन सकेको छैन। उनमा बाँच्छु भन्ने पूरै आत्मविश्वास झल्किन्छ। 

‘काठमाडौंको कुनै हलमा महिना दिनसम्म डान्सको सोलो पर्फमेन्स गर्ने मेरो उबेलादेखिको सपना थियो,’ उनले मुठ्ठी कसेर तेजिलो स्वरमा भनिन्, ‘सहयोग जुटेर मिर्गौला ट्रान्सप्लान्ट भयो भने म बाँच्छु र एकचोटि चाहिँ सोलो पर्फमेन्स गर्छु।’

जब भित्तामा आफ्नो पुरानो फोटो देख्छिन्, उनलाई अझै पनि आफू स्टेजमा नाचिरहेजस्तो लाग्दो रहेछ। दिमागमा यस्तो कल्पना आउँदा त उनी खुबै रमाउँछिन्। तर, जब हिँड्न थाल्छिन्, खुट्टा बाउँडिन्छ। करकर खान थाल्छ। डाडुपन्यु चलाउँदा पनि हात बाउँडिएर केही चिज समात्नै नसक्ने हुन्छ। 

कोही पुराना साथी भेटिँदा भन्छन्, ‘खुब राम्रो नाच्थ्यौ है?’

तब उनी झल्याँस्स हुन्छिन्, ‘ए हो त! म राम्रो नर्तकी थिएँ, अहिले रोगी पो छु त।’

‘पहिले–पहिले त यस्तो थाहा पाउँदा भक्कानो छुटिहाल्थ्यो,’ झ्यालमा राखिएको दुइटा ढुंगा देखाउँदै उनले भनिन्, ‘अहिले त यो पत्थरजस्तै भइसक्यो मेरो मुटु। आँशु नै आउँदैन।’

उनले यसो भनिरहँदा आँखाका कोसमा भित्तामा बलिरहेको सिएफएल चिमको उज्यालो टल्किरहेको थियो।

मनमा यस्तै अनेक तर्कना खेल्लान् र झनै दुःख देलान् भनेर उनले जीवनयापनका लागि समय–तालिका बनाएकी छन्। बिहान ६ बजे नै उठेर खाना बनाउँछिन्। कमजोरीका कारण झन्डै तीन घन्टा लाग्छ, खाना पकाउन। खानापछि ओछ्यानमा बसेर झन्डै एक मुठी औषधी खान्छिन् र, दुई घन्टा आराम गर्छिन्। 

सुतेर उठ्दा कोठाका भित्ताले कोपर्न खोजेजस्तो लाग्दो रहेछ उनलाई। उनी त्यसलाई छल्न बाहिर टहल्न निस्कन्छिन्। फुर्सदका बेला कहिलेकाहीँ एक्लै तास खेलेर बस्छिन्।

खाना जति पनि रुच्ने, निद्रा जति पनि पर्ने र राम्रो सपना देखिने हुँदा उनमा बाँच्ने आत्मविश्वास झन्–झन् चुलिएको छ।

उनलाई एउटै चिज देखी डर लाग्छ– ऐना। 

‘ऐनाले त तर्साउँछ,’ उनी भन्छिन्, ‘म आफैंलाई चिन्न सक्दिनँ। डान्स गर्दा पूरै शरीर देखिने थुप्रै ऐना थिए। कति भुइँचालाले फुटायो, कतिलाई आफैं मिल्काइदिएँ। आफूले बिरामी नठाने पनि ऐनाले झन् बिरामी बनाइदिन्छ।’

उनको रंगीन अतीतदेखि श्यामश्वेत वर्तमानसम्म समेटेर फर्कन खोज्दा उनले हामीलाई रोकेर रंगीन भविष्यको कल्पना सुनाइन्।

भनिन्, ‘म बाँच्न चाहन्छु। धेरैभन्दा धेरैको सहयोग पाएँ भने म बाँच्न सक्छु।’

उनले आफूलाई सहयोग गर्न एनआइसी एसिया बैंकको खाता नम्बर टिपाइन्– ४८६१३५९८४४५२४००१
स्रोत : सेतो पाटि 

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses