कञ्चन शर्मा रेग्मी प्रकरणः कहाँ चुक्यो हाम्रो मिडिया ?
– विनोद ढकाल
आत्महत्या भनेको मान्छेले भगवानलाई भन्ने एउटा बाटो हो की भगवान तिमी मलाई नसिध्याऊ, म आफैं त्याग्न तयार छु ।
हरेक मान्छे अन्तिम अवस्थामा वा समस्यामा परेको खण्डमा भगवानलाई सम्झने गर्दछन् । हिन्दुहरु हे इश्वर! भन्छन्, ख्रिष्टियनहरु हे प्रभु! मुस्लिमहरु हे अल्लाह! भन्छन् । यो हर मानव जीवनमा संकटका समयमा मुखमा र मनमा आउने दैवी शक्तिको प्रभाव र लगाव नै हो । तर, मान्छे जसरी संकटमा पर्दा भगवान सम्झन्छ, संकटमा पार्दा आत्मग्लानी गर्दैन । माफी र आफ्नो गल्ती स्वीकार्न तयार हुँदैन । यो पनि स्वभाव नै हो । अझ पत्रकारितामा त माफी भन्ने माग्नै हुन्न, सकभर आफ्नो गल्तीलाई पनि सही बनाउन प्रमाणहरुको साहरामा अघि बढ्नुपर्छ भनेर सिकाइन्छ । यदि गल्ती सावित हुने अवस्था छ भनेचाहीँ सामान्य ढंगले माफी माग्नुपर्छ भन्ने मान्यता स्थापित गरिएको छ ।
माफीको सन्दर्भ पत्रकारिता पेसासँग निक्कै सकसपूर्ण नै छ । पत्रकारिता विश्वासको आधार भएको पेसाका कारण त्रुटी हुनु भनेको जोखिम मोल्नु हो पनि भनिन्छ । सैद्धान्तिक रुपमा पत्रकारितामा त्रुटी निक्कै कम बनाइन्छ । पत्रकारिता सिकाउँदा नै सिकायतरहित समाचार, अन्तरवार्ता र फिचरहरू बनाउने तरिका पत्रकारिताका गुरूहरूले सिकाउँछन् । विश्वबजारमा पनि यहि मान्यतामा पत्रकारिता अडिएको छ । राष्ट्रको हितबाहेकमा पत्रकारिता सन्तुलित समाचार पस्कने पेसा हो । तर, अहिले त्यसो नभएको, हुन नसकेको र गराउने चेष्टा नभएका विभिन्न आधारहरु देखिन्छन् । हाम्रो सन्दर्भमा भन्ने हो भने मिडिया हाउसका असन्तुलित र अस्वस्थ्यकर प्रतिस्पर्धा, नक्कल समाचारीय सद्भाव अनि अति राष्ट्रवाद यसका कारक देखिन्छन् । अर्कोथरी कारक हो, गैर सरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैर सरकार संस्थाको मुद्दाका आधारमा प्रेरित पत्रकारिता ।
नेपालीहरू बहुसंख्यकका आधारमा जोडिएको सामाजिक सञ्जालमा केही दिन यता पत्रकारिता माथिको बहस नै चलेको थियो । सन्दर्भ हो– कञ्चन शर्मा रेग्मीको कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘सुमनसँग’को अन्तरवार्ताका क्रममा पेस गरिएका दलिलहरू । रेग्मीका दलिलहरू र अन्तरवार्ताकार अनुभवी पत्रकार तथा सम्पादक सुमन खरेलले खोज्न छुटाएको एउटा पाटोको विषय । सम्पादक सुमन खरेल अहिले वडो चिन्तामा छन् । उनले समाज परिवर्तनको पक्षमा ‘लो प्रोफाइल’मा रहेका पात्रहरूको आवाज राज्यसम्म पु¥याउने एउटा कार्यक्रम सुरु गरे । तर, उनलाई पहिलो गाँसमा माटो र दोस्रो गाँसमा ढुंगा लागिसकेको छ । पहिलो, तरकारीवालीका नाममा समाजिक सञ्जालमा प्रख्यात भएकी कुसुम श्रेष्ठको अन्तरवार्ता, जुन लो प्रोफाइल भन्न मिल्दैन । अनि, दोस्रोचाहीँ रेग्मीको अन्तरवार्ता जहाँ अन्तरवार्ताकारका केही कमजोरीले उजागर गरेका फरक पाटाका तथ्यहरू । सम्पादक खरेलले सामाजिक सञ्जालमार्फत रेग्मीका परिवारहरु मोहन रेग्मीलगायतका विचार ल्याउने पनि बताए तर विषयले नेटो काटेपछि । त्यहि अन्तरवार्ताका क्रममा या प्रशारण हुनुअघि यहि सूचना जारी गरिएको भए वा चनाखो भइदिएको भए, अहिले सामाजिक सञ्जालमा पत्रकारिताको विषयमा टिप्पणी उठ्ने थिएनन् । सम्भवतः यो आलेख पनि तयार हुने थिएन ।
रेग्मी प्रकरण विभिन्न मिडियाको बहस जस्तो भयो । कतै प्रश्न उठे, कतै उत्तर खसे । इन्टरनेट पुस्ता सम्भवतः यसमा जानकार नै छ । तर, यसमा उठाउन खोजेको प्रश्न के भने, इन्टरनेट पुस्ता सूचनामा तेज छ, तथ्यमा कमजोर पनि छ ।
जुन सम्पादकले अहिलेको पाठकलाई कमजोर, वेवकुफ र गणेशमानका जनता ठान्दछ, उसले पत्रकारिता नगरेको बेस हुन्छ । अहिलेको नेपाली पाठक नेपाली पत्रकारहरु भन्दा निक्कै तेज छन् । अझ सूचनाको हकमा त अहिलेको पुस्तासँग स्पर्धा हुनै सक्तैन । यद्यपि, सामाजिक सञ्जालमा रहेका नेपाली पाठकसँग एउटा कमजोरी रहेको छ । कुनैपनि मिडियामा आएको सूचनाको क्रसचेक नगरी त्यसको भनाईका आधारमा कसैको जीवनकै तिलाञ्जली हुनेगरी आउने प्रतिक्रिया । सामाजिक सञ्जाल पनि संयमित र भयभित हुन आवश्यक छ । नेपालमा विद्युतीय कानुन कमजोर भयो भन्दैमा हामीले आफ्नो नैतिकताको अवमुल्यन गरेर कसैको परिवार, उसको भविष्य र पर्नसक्ने भवितव्यलाई नजरअन्दाज गरेर हिँड्यौं भने हामीमा मानवता रहँदैन ।
अहिले विश्वमा सवैभन्दा शक्तिशाली बनिरहेको छ, नागरिक पत्रकारिता । सामाजिक सञ्जालमा छाएका सवैलाई लाग्दो यो मेरो नीजि भावना म लेखिरहेको छु । तर, त्यो एउटा भयानक शक्तिशाली पत्रकारिता हो । त्यो सूचनाको खेती हो । जसले एउटा विश्वसमुदायमा सूचनाको खेती गर्छ, त्यो पत्रकारिता नै हो । बस, त्यसका लागि पत्रकारिता पढ्न पर्दैन, कुनै अखबारमा काम गर्न पर्दैन र कुनै मिडियाप्रति जवाफदेही हुन पर्दैन । तर, आफ्नो आत्मा र विश्वसमुदायमा जवाफदेही हुनुपर्छ । एउटा सोसियल नेटवर्कमा हामीले प्रचार गरेको सानो गलत सन्देशले कसैको जीवन र मृत्युको निर्णयार्थ प्रभावकारी काम गरिरहेको हुन्छ भने हामी आफ्नो नैतिक चरित्रप्रति जवाफदेही हुनपर्छ । यदि त्यसो गर्ने हिम्मत र क्षमता राखिँदैन भने, हामी मास मिडियाबाट टाढा बसौं या मास मिडियामा गलत सूचना प्रवाहको बानीलाई नियन्त्रणमा राखौं, सकिन्छ भने सामाजिक धरातल र नैतिकताको जगमा उभिएर सक्रिय बनौं ।
सत्य कहिले पनि कमजोर हुँदैन । झूठका माथि अनेक झूठहरुको थाक लागिरहेको हुन्छ । तर, सत्य कमजोर नै सही सानो देखिन्छ तर अडिग । झूठको थाक यति अग्लो हुन्छ की त्यो थामिन नसकेर ढल्छ र सत्यभन्दा निक्कै तल्लो सतहमा पुग्छ । त्यसकारण सत्य र तथ्यको आधारमा मात्र नेपाली नयाँ पुस्ताले प्रतिक्रियावादी भएको राम्रो हुन्छ । लहड र हावाको वेगको आधारमा सामाजिक सञ्जालमा कमेन्ट र लाइकका लागि हतार गर्दा मानवीय संवेदनामा हामी कहिँ कतै चुकिरहेका छौं कि ?
समाजलाई अतिरञ्जित हुनेगरी भएका कर्ममा मैले पत्रकारहरुले सामाजिक रुपमा माफी मागेको देखेको छैन । न सुमन खरेलले मागे, न जीवराम भण्डारीले माफीका शव्द कोरेका थिए । मिडियाको उपयोग गर्दा भुल भएको विषयमा न दिक्षा चापागाइले गरिन् न कञ्चन रेग्मीले गरिन् । न रेग्मीका परिवारले गरे, न मोहन रेग्मीले नै जीवनको कालखण्डमा भएका एकाध गल्ती अगाडी सारेर माफीको चाहना गरे । सामाजिक सञ्जालमा मोहन रेग्मीको परिवारलाई नै डिप्रेशनमा पार्ने तस्विर सार्वजनिक गर्ने न सामाजिक अभियन्ताहरुले नै आफ्नो गल्तीको पश्चाताप गरे । यी सवै घटनाहरुले के देखाउँछ भने हामी नैतिक रुपमा अर्काको चरित्रमा प्रश्न उठाउन तयार छौं तर आफ्नो गल्तीमा सामान्य आत्मग्लानी गर्ने चरित्रको निर्माण गर्न सकेका छैनौं । हामी दुनियाँभरी व्यवाहार परिवर्तनको शिक्षाको कुरा गर्छौं, हामीमा ज्ञानको तह भएपनि विचार, संश्लेषण गरी व्यवाहार परिवर्तन गर्नसक्ने आत्मशक्ति कमजोर बनिसकेको छ ।
यसकारण हामी पत्रकार, हाम्रो पत्रकारिताको विषयमा दुनियाँले उठाएको प्रश्नमा अनुत्तरित हुन सक्तैनौं त्यसको जवाफदेहिता नै हाम्रो पेसागत धर्म हो, नेतिकता हो । विश्वसमाजमा हाम्रा कर्महरु गलत छन् भने त्यसलाई गलत भनी माफी माग्नुपर्छ । सूचनाको सानो गल्तीका कारण हामीले मानव जीवनमा भोग्न बाध्य बनाएका अमानविय व्यवाहारको दोषी बन्ने कि नबन्ने ? जिम्मा लिने कि नलिने ? अनि, एउटा सरल र व्यापक समाज बनेको विश्वसमुदायको साझा घर सामाजिक सञ्जालमा सक्रिय पुस्ताले तथ्यलाई तोडमोड गरी कसैको जीवनलाई सिध्याउने खेल बन्द गर्ने कि नगर्ने ? यदि यहि क्रम जारी रहीरह्यो भने मिडिया, सोसियल मिडियाप्रति लगाव होइन, द्वेष उत्पन्न हुनसक्छ, यो अवस्थाप्रति सवै सचेत बनौं ।
स्रोत : दैनिक नेपाल =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses