फेरी रुपन्देहीमा अर्को महिलाको हत्या
रुपन्देहीको बुटवलमा एकजना महिलाको हत्या भएको छ। बुटवल उपमहानगरपालिका–१३ कालिकानगरमा भाडामा बस्दै आएकी अन्दाजी ४० वर्षीया कमला न्यौपानेको हत्या भएको हो। तिलोत्तमा नगरपालिका–८ गोरकट्टा घर भई लामो समयदेखि कालिकानगरमा परिवारसहित भाडामा बस्दै आएकी न्यौपानेको विद्युतीय मल्टीप्लगको तारले घाँटी कसेर हत्या गरी पलङभित्र राखेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। विगत केही वर्षयता विभिन्न समूहमा ढिकुडी खेलाउँदै आएकी कमला विहीबार पनि दिनभर बजारमा ढिकुडी किस्ता उठाउँदै हिडेको र साँझ ६ बजेतिर कोठामा फर्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। बुटवलमै जुत्तापसल संचालन गर्दै आएका कमलाका श्रीमान नित्यानन्द न्यौपाने विहीबार विहानै सामान खरिद गर्न काठमाडौं गएका थिए। कमला कोठामा एक्लै रहेको भन्दै राति साथी दिन गएका उनका दाजुका छोरा रेबिकले राति ८ बजेतिर कोठामा कतै नदेखेपछि खोज्दै जाँदा पलङभित्र कमलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हत्याको खबर पाएपछि तत्काल घटनास्थल पुगेका रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङले हत्यापछि कमला लगाएका औंठी, बाला, कानको टप, सिक्री लगायत सुनका केही गरगहना लुटेर लगेको बताए। तर, दराजभित्र रहेका धनमाल भने सुरक्षित रहेकोले हत्या चोरी तथा लुटपाट गर्ने अभिप्रायले नभएर अन्य कुनै कारणले गरेको हुन सक्ने उनले बताए। कमलाको शव पोष्टमार्टको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको र घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए। =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses