आफू मरेर यात्रु बचाउने पाइलटको पत्नीले जन्माइन् छोरा,छोरालाई पाइलट नै बनाउने चाहना
ग्राण्डी अस्पतालको आठौं तल्ला, कोठा नम्बर ८१२ । हस्पिटलकै फलामे झलुंगोमा सुतेका छन् एक गर्भे टुहुरा । उल्लासको वातावरण हुनुपर्ने हो तर उदास–उदास छन् सबै ।तीन दिनअघि जन्मिएका बालकको छेउमै बसेकी छन् उनकी आमा रजनी अधिकारी । रजनी – कालिकोटको जहाज दुर्घटनामा ज्यान गुमाएका पाइलट दिनेश न्यौपानेकी पत्नी । र छन् अरू आफन्त पनि ।तीन दिनअघि जन्मिएका बालकले न्यौपाने परिवारमा आशाको सञ्चार त गराएका छन् तर अझै पनि न्यौपाने परिवार तंग्रिएको छैन । आफन्तले भर्खरै जन्मिएको छोरो मुसार्ने बाबुको अभाव महशुश गरेका छन् ।दिनेश बाँचेको भए अर्धाङ्गिनी रजनीलाई बधाई दिँदै छोरो सुमसुम्याउँथे होला । रजनी मख्ख पर्दिहुन् । तर दैवको लीला जहाजमा सवार यात्रुलाई जोगाउँदा दिनेशले ज्यान गुमाए । परिवार शोकाकुल बन्यो र बच्चो गर्भे टुहुरो ।विपत्ति जसलाई पनि पर्नसक्छ । सुन्दर जीवनको सपना साँचेका दिनेश र रजनी विवाहको तीन वर्षमा छुट्नुप-यो, त्यो पनि सदाको लागि ।
छोरो जन्मेपछि केही राहत
श्रीमानको मृत्युपछि बेहोश जस्तै बनेकी रनजीलाई श्रीमानकै रक्तबीजबाट छोरो जन्मिएपछि केही राहत भने मिलेको छ । उनले श्रीमानको अभावलाई बिर्सिन छोरोलाई एउटा असल मान्छे बनाउने सपना देखिसकेकी छन् । ‘साढे दुई महिनाको गर्भ हुँदा उहाँको निधन भएको हो,’ रजनीले भनिन्, ‘अहिले बाबु जन्मियो, यसले पीडामा मल्हम लगाएको छ ।’ तीन दिनअघि जन्मेको छोरालाई उसको बाबु जस्तै पाइलट बनाउने सोच रजनीको छ ।
छोरो पाइलट बन्ने आशा
सम्पूर्ण घरपरिवारले दिनेशको झल्को बच्चाले मेटाउने अपेक्षा पनि गरिसकेका छन् । दिनेशले छोरी जन्मिए पाइलट र छोरो जन्मिए डाक्टर बनाउने सपना देखेका रैछन् । तर परिवारले भने छोरोलाई दिनेशकै कित्तामा ल्याउने निर्णय गरेको छ । ‘पतिको झल्को मेट्नलाई पनि छोरोलाई पाइलट बनाउँछु,’ रजनीले भनिन् ।परिवारले बच्चाको पेशा मात्रै होइन नाम पनि रोजिसकेको छ – डेनी । खास नाम दिनेश भएपनि साथीहरुले दिनेशलाई डेनी भनेर बोलाउँथे ।
‘साउथ अफ्रिकामै पाइलट पढ्दा उहाँका साथीहरूले उहाँलाई पाइलट डेनी भनेर बोलाउँथे,’ रजनीले भनिन्, ‘अब बाबुको नाम पनि डेनी नै राख्ने सोचेका छौं ।’ गर्भवती श्रीमतीलाई भेट्न दुर्घटनाको दुई दिनअघि काठमाडौं आएका ‘डेनी’ त्यसपछि सदाको लागि बिदा भए ।रजनीको पेटमा मायाको चिनो छोडेर गएका रहेछन् दिनेशले । नेपालगञ्ज उडान भर्न हिँड्ने बेला दिनेशले रजनीसँग बेस्सरी अंगालो मारेका थिए । त्यही अंगालो रजनी र दिनेश दुवैका लागि अन्तिम बन्यो ।दुई दिनका लागि काठमाडौं आएका दिनेशले रजनीलाई एक हप्तासम्म पुग्ने खानेकुरा किनेका थिए । ‘पाइलट भए पनि साधारण हुनुहुन्थ्यो, मेरो खुब ख्याल राख्नुहुन्थ्यो,’ रजनीले यसो भन्दा उनको आँखाबाट आँसुका ढिक्का हाम्फालिहाले ।
प्रेम सम्बन्धपछि विवाह
रजनीले तीन वर्षको प्रेम सम्बन्धपछि नेपागञ्जका दिनेशसँग २०६९ को वैशाखमा विवाह गरेकी थिइन् । आफ्नो एक जना दाइमार्फत सम्पर्कमा आएका दिनेशसँग रजनीको प्रेम बसेको थियो ।‘हाम्रो प्रेम सम्बन्ध पनि निकै राम्रो थियो,’ उनले भनिन्, ‘पहिले प्रेममा परेर मागी विवाह गरेका हौं ।’ विवाहपछिका शुरुशुरुका दिनमा आफूलाई दुर्घटना पो भइहाल्ने हो कि भनेर खुब चिन्ता लाग्ने रजनीले बताइन् ।‘विहान देखि उहाँ उडानबाट नफर्किएसम्म दियो बालेरै बस्थें,’ उनले भनिन्, ‘उहाँले फ्लाइट सकियो भनेपछि मात्रै ढुक्क हुन्थें ।’ तर पछि बिस्तारै त्रास हराउँदै गएको थियो ।
जहिल्यै डर
दिनेशले आफूलाई केही पनि नहुने भन्दै रजनी र सम्पूर्ण परिवारलाई ढाडस दिएका थिए । श्रीमान् उडानबाट फर्किन ढिला भए टिभीको स्क्रोल समाचार हेरेर बस्ने रजनीको बानी पनि बिस्तारै हराउँदै गएको थियो ।परिवारले अब एक वर्ष मात्र दिनेशलाई उडानमा पठाउने निर्णय गरेको थियो । हावाको यात्रा जहिलेपनि असुरक्षित हुने भएकोले एक वर्षपछि दिनेशलाई उडानमा रोक लगाउने निर्णय परिवारले गरेको दिदी कृष्णा न्यौपाने भुसालले बताइन् ।‘भाइको साहसिक कामलाई तीन करोड नेपालीले स्यालुट गरेका छन्,’ उनले भनिन्, ‘सबैको मायाले हामीलाई मल्हम लगाएको छ ।’रजनीका अनुसार एक वर्षपछि उनीहरूको इन्डोनएसिया जाने योजना थियो ।रजनीलाई छोरा जन्मिएसँगै उसलाई आफूहरूले आशाको केन्द्रको रूपमा लिएको भुसालले बताउँछिन् । नेपालगञ्जबाट हुम्लाका लागि उडेको एअर काष्ठमण्डपको विमान दुर्घटना हुँदा पाइलट दिनेश र कोपाजइलट सन्तोष रानाले ज्यान गुमाएका थिए । सवार ९ जनाको ज्यान जोगाउन सफल भएपनि उनीहरूले आफ्नो ज्यान भने जोगाउन सकेनन् ।
यात्रुलाई ढाडस, आफू भने मृत्युवरण
जहाजमा आएको खराबी थाहा पाउनेबित्तिकै यात्रुलाई नआत्तिन ढाडस दिएका उनीहरूले ज्यान गुमाए । ‘हामी मरेर पनि तपाइहरुलाई जोगाउछौं’ भनेका न्यौपाने र रानाले यात्रु त जोगाए, आफूहरू भने जोगिएनन् ।भाइको निधनपछि भुसालले निकालेको पुस्तकमा दिनेशले जबर्जस्ती पाइलट पढेको उल्लेख छ । घर परिवारले नमान्दा नमान्दै उनले साउथ अफ्रिकाबाट पाइलटको अध्ययन पूरा गरेका थिए । क्याप्टेनको प्रशिक्षण चाहिँ अमेरिकामा लिएका थिए ।प्लेनको पछिल्लो सिटमा बसेका यात्रुले पाइलट नपढेपनि ज्यान गुमाइरहेको उदाहरण उनले परिवारलाई दिन्थे । सवारी दुर्घटनामा पनि मान्छेको निधन भइरहने उनी बताउँथे ।
परिवारलाई यसरी बल्लबल्ल मनाएर दिनेशले पाइलटको अध्ययन गरेका थिए । कान्छो छोराको रूपमा जन्मिएका दिनेशलाई कुनैपनि हालतमा पाइलट पढाउने चाहना परिवारलाई थिएन । नेपालगञ्जको न्यौपाने परिवारले दिनेशकै अध्ययनका लागि दुईवटा घरसमेत बेचेको उक्त पुस्तकमा उल्लेख छ ।श्रीमानको मृत्युको पीडाबाट बिस्तारै तंग्रिदै गरेकी रजनीले अब पिएचडी गर्ने सोच बनाएकी छन् । पहिल्यै स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी उनलाई पीएचडी गर्न मन लागेको हो ।
स्रोत: लोकान्तर न्युज =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses