कर्मचारी दरबन्दी नहुँदा दमकल संचालनमा आउन सकेन
माघ ३, २०७२- मध्यपुरथिमी नगरपालिकाले दमकल खरिद गरेको ढेड वर्ष बितिसक्दा समेत सञ्चालनमा ल्याउन सकेको छैन । स्थानीय विकास मन्त्रालय र मध्यपुरथिमी नगरपालिकाको संयुक्त लगानीमा ६६ लाख खर्चेर दमकल खरिद गरेपनि मन्त्रालयले कर्मचारीको दरबन्दी नदिँदा दमकल सञ्चालन अन्यौलमा परेको नगरपालिकाले जनाएको छ ।
‘दमकललाई केकसरी व्यवस्थापन गर्ने भन्ने योजना नै नबनाई ल्याइयो’, मध्यपुरथिमी नगरपालिकाका कार्यकारी अधिकृत भुपेन्द्र सापकोटाले भने,‘नगरपालिकासँग दमकल सञ्चालन गर्ने जनशक्ति नै छैन ।’ ‘नगरपालिकामा थप कर्मचारी राख्न सक्ने अवस्था पनि छैन, प्रशासनिक खर्च नै बढी छ’, उनले भने ।
स्थानीय निकाय सञ्चालन ऐनमा नगरपालिकाले अनिवार्य रूपमा दमकल सञ्चालन गर्नुपर्ने व्यवस्था गरिए अनुसार खरिद गरिएको, तर सञ्चालनको लागि जनशक्तिको विषयमा भने अन्योल रहेको सापकोटाले बताए । नगरपालिकासँग दमकल राख्ने ठाउँ समेत नहुँदा मध्यपुरथिमी नगरपालिकाले खरिद गरेको दमकल डेढ वर्षयता कोरिया नेपाल मैत्री अस्पताल परिसरमा खुल्लारुपमा राखिएको छ ।
दमकल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न मन्त्रालयलाई अनुरोध गरिएको नगरपालिकाका वरिष्ठ कानुन अधिकृत केशव सिलवालले बताए । दमकल सञ्चालन गर्न चालक र फायरम्यान गरी कम्तीमा १० जना आवश्यक पर्ने र नगरपालिकाको आयस्रोतले धान्न नसक्ने भएकाले मन्त्रालयमा कर्मचारी दरबन्दी माग गरिएको उनले बताए । दमकल सञ्चालनमा ल्याउन आगोलागि नियन्त्रणसम्बन्धी दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले कर्मचारी व्यवस्था गर्न नसक्दा सञ्चालनमा ल्याउन ढिला भएको कार्यकारी अधिकृत सापकोटाले बताए ।
उक्त दमकलका खरिदका लागि स्थानीय मन्त्रालयको ६० लाख अनुदानमा बाँकी रकम नगरपालिकाले पूर्ति गरेको सिलवालले बताए । नगरपालिकाले खरिद गरेको दमकलको क्षमता पाँच हजार लिटर रहेको कर्मचारी र इन्धन बढी चाहिने भएकाले थप समस्या रहेको समेत नगरपालिकाले जनाएको छ ।
‘नगरपालिकाले खरिद गरेको दमकल निकै ठूलो भयो’, उनले भने,‘भक्तपुर जस्तो पुरानो र साँघुरो बस्तीमा आगोलागि हुँदा सानो बाटोमा लान समेत नमिल्ने छ ।’
पछिल्लो समय जुद्धवारुण यन्त्र कार्यालय भक्तपुरले मध्यपुरको दमकल सञ्चालन गर्ने चासो देखाएको थियो । कार्यालयले इन्धन र मर्मतसम्भारको खर्च नगरपालिकाले व्यवस्था गरे आवश्यक जनशक्तिसहित दमकल सञ्चालन गर्ने प्रस्ताव पेस गरे पनि सहमति हुन सकेको छैन ।
कतै आगलागी भई हालेपनि जनशक्ति नभएकै कारण दमकल भएपनि टुलुटुलु हेर्नुपरेको स्थानीयको गुनासो छ । ‘दुईसाता अघि दमकल थन्काइएकै छेउमा आगलागि भयो’, स्थानीय राजु श्रेष्ठले भने,‘बाहिरको दमकल आएर आगो निभाइयो, यहाँको हेरेको हेर्यै ।’
जिल्लाको नयाँ चार नगरपालिकाका लागि मन्त्रालयले दमकल खरिदका लागि पुँजीगत खर्च एक/एक करोड र एम्बुलेन्स खरिदका लागि ३५ लाख दिई सकेको अघिल्लो नगरपरिषद्मै सार्वजनिक गरेको भएपनि सबै नगरपालिकाको दोस्रो नगरपरिषद् भईसक्दा समेत दमकल र एम्बुलेन्स खरिद गरेको छैन । जिल्लाको भक्तपुर नगरपालिकाले भने दमकल पाल्न नसक्ने भन्दै खरिद राख्न मानेको छैन ।
मन्त्रालयमा कर्मचारीको दरबन्दी माग गर्दा उपत्यका विकास संयन्त्र मार्फत सबै नगरपालिकाको दमकलको व्यवस्थापन गर्ने योजना बनाएको बताउने गरेको नगरपालिकाले जनाएको छ । मध्यपुरथिमीको दमकल राख्ने ठाउँ नभएको भन्दै दमकल राख्ने घर निर्माणको लागि १५ लाख छुट्याएको कार्यकारी अधिकृत सापकोटाले बताए ।
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses