कांग्रेस बैठक : प्रदेश संरचनाको प्रस्ताव ल्याउन निर्देशन
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

माघ ३, २०७२- प्रमुख प्रतिपक्षी कांग्रेसको पदाधिकारी बैठकले पार्टीमा प्रदेशलगायत संरचना निर्माण गर्नुअघि विस्तृत छलफल गरेर विकल्पसहित प्रस्ताव ल्याउन विधान मस्यौदा समितिलाई निर्देशन दिएको छ । महाराजगन्जस्थित सभापति सुशील कोइरालाको निवासमा शनिबार सम्पन्न पदाधिकारी र विधान मस्यौदा समितिको संयुक्त बैठकले पार्टीको तल्लो तहसम्म छलफल गरेर मात्र विधान संशोधनबारे निर्णयमा पुग्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ । भविष्यमा प्रदेशहरू राजनीतिको महत्त्वपूर्ण केन्द्र हुने भएकाले तिनमा राखिने पार्टीको संरचना र पदाधिकारी छनोटबारे विधान संशोधनको ठोस प्रस्ताव ल्याउन समितिलाई जिम्मा दिइएको छ । कांग्रेसमा गाउँ, नगर, क्षेत्र र जिल्ला तहमा भने हालको संरचना नै कायम गरेर जाने सहमति यसअघि भइसकेको छ । तर, प्रदेश र केन्द्रका संरचना कस्तो बनाउने भन्नेमा भने थप छलफलको आवश्यकता देखिएको विधान मस्यौदा समितिका संयोजक तथा संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले जानकारी दिए । व्यापक छलफल गरेर विभिन्न विकल्पसहितको खाका ल्याउन शीर्ष नेतृत्वले निर्देशन दिएको उनले बताए । उनका अनुसार बैठकमा केही नेताले सबै तहमा निर्वाचनको व्यवस्था गर्दा जायज हुने धारणा राखेका छन् । अन्तिम निष्कर्ष नआएको र सघन छलफल गर्नुपर्नेमा समान धारणा आएको थियो । केन्द्रीय सदस्य बालकृ
ष्ण खाँणले भने पार्टीको गाउँ तथा नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिका सबै पदाधिकारीको निर्वाचन हुनुपर्ने धारणा राखेका थिए । यसैबीच, कांग्रेसका युवा नेताहरूले मधेसका जिल्लाको स्थलगत अध्ययन र छलफल गरी तराई–मधेसको समस्या तत्काल राजनीतिक ढंगले हल गर्न पार्टी नेतृत्वलाई ६ बुँदे सुझाव दिएका छन् । युवा नेताको टोलीले ‘कांग्रेसको दुई हात, एक पहाडको साथ अर्काे मधेसको हात’ मूल मर्मका साथ आन्दोलन भइरहेका तराईका जिल्लाको स्थलगत भ्रमण गरेका थिए । तराई–मधेसको वर्तमान राजनीतिक समस्या हल गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सभापति सुशील कोइरालालगायत शीर्ष नेतालाई शनिबार बुझाएका छन् । उनीहरूले प्रधानमन्त्री केपी ओलीको राजपाठ र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोको आन्दोलित नजरले नभई मधेसमा कांग्रेसलाई जोगाएर/जिताएर बसेकाहरूको नजरले बुझ्न र पढ्न सुझाएका छन् । प्रतिवेदन बुझदै सभापति कोइरालाले तराई–मधेसका जायज माग वार्ता र संवादबाट तत्काल समाधान गरिने बताए । प्रतिवेदनमा मधेसका हितका सम्बन्धमा संविधानमा भएका प्रावधानलाई नागरिक पंक्तिमा पुर्‍याउन पर्ने, संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाको विश्वासमा अगाडि बढाउनुपर्ने तथा सीमांकन हेरफेर गर्ने सन्दर्भमा सम्पूर्ण संघीयताको मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने सुझाव दिइएको छ । टोलीमा युवा नेताहरू विश्वप्रकाश शर्मा, देवराज चालिसे, बजरंग नेपाली, शम्भु चौहान, विष्णुमणि घिमिरे, मिथिलेश मिश्रा, लवराजा सिंह, दिलबहादुर बुढाथोकी र मोहन पाण्डे सम्मिलित थिए ।

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses