७५ वर्षीया नर्स पूर्णमायाको अनुभूती ..पुरा पढ्नुहोस
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

नेपालमा अहिले नर्सिङ पेशाप्रतिको आकर्षण निकै बढेको छ । वर्तमान अवस्था हेर्दा त सेवा गर्ने मौका नपाएर यत्तिकै बसेका नर्सहरुको सँख्या नै धेरै भइसकेको छ  । तर, पहिले अवस्था त्यस्तो थिएन । राति पनि ड्युटी गर्नुपर्ने र अरुको सेवा गर्नुपर्ने यो पेशामा छोरीलाई आवद्ध गराउन अभिभावक चाहदैनथे । त्यसैले त अस्पतालमा नर्सहरु निकै कम थिए ।
एउटै नर्सका भरमा ७० जनासम्म बिरामीको उपचार हुन्थ्यो । त्यही समयकी नर्स हुन् ७५ वर्षीया पूर्णमाया श्रेष्ठ । २०२४ सालदेखि नर्सिङ पेशामा समाहित पूर्णमाया अझै थाककी छैनन् । नर्सिङसँग सम्बन्धित विभिन्न कार्यमा अहिले पनि सहभागी हुन्छिन् । उनले आफ्नो नर्सिङ करिअरका केही सम्झना स्वास्थ्यखबरपत्रिकासँग बाँडेकी छिन् ।
केटीको होस्टेल भएकाले नर्सिङको पढाइ
२०१९ सालमा काठमाण्डौको गान्धी आदर्श विद्यालयबाट एसएलसी पास गरिन्् । छोरीलाई पढाउने कुरामा आमा सहमत नभएपनि घरका अरु सदस्यको सहयोगमा पढ्न काठमाडौं आइन् ।  दिदिको साथ लागेर काठमाडौं आएकी उनलाई उनकी दिदिले नै पढाइमा हौसला दिएकी थिइन् । घर सदस्यले   एसएलसी पास गरेपछि विवाह गरिदिने प्रस्ताव अघि सारेका थिए । प्रचलन नै त्यस्तै थियो त्यो बेला  । तर, उनकी दिदिले बहिनीलाई बढाउन भनेर काठमाडौं ल्याएर आफूसँगै राखिन् ।
१९९७ सालमा काठमाण्डौं साँखुमा  जन्मिएकी पूर्णमायाको नर्सिङ पढ्नुको अनुभव रोचक छ । किनभने उनले जानेर नर्सिङ पढेकी होइनन् । ‘अरु क्याम्पसमा केटी बस्ने होस्टेले भेटिएन ।  नर्सिङ क्याम्पसको होस्टेलमा केटी मात्रै बस्थे । घरकालाई पनि त्यहीँ ढुक्क हुने स्कुल अफ नर्सिङमा भर्ना गरियो,’ उनी सम्झिन्छिन् । उनले तीन वर्ष ९ महिना पढेर पास गरिन् । नेपालमा नर्सिङ अध्ययन गर्नेको नवौं ब्याजमा पर्छिन् उनी । उनी पढ्दा १४ जना विद्यार्थी थिए । तीमध्ये उनका तीन सहकर्मीको मृत्यु भइसकेको छ  ।
सुरुको तलब रु २ सय ५०
२०२४ सालको अन्त्यबाट वीर अस्पतालमा स्टार्फ नर्सका रुपमा सेवा थालिन् । सेवामा प्रवेश गर्दा उनको तलब जम्मा २ सय ५० रुपैयाँ थियो । उनलाई त्यो पनि धेरै जस्तो लाग्छ, ‘मैले आफ्नो सम्पूर्ण खर्च त्यसैबाट गर्दा पनि केही रकम बाँकी रह्यो, त्यो बैंकमा जम्मा गरेकी थिएँ ।’ लगातार १८ वर्ष वीर अस्पतालमा काम गरिन् । त्यसपछि मेची अस्पतालमा सरुवा भयो र सँगै बढुवा पनि भयो । सन् १९८०मा सरकारी छात्रवृत्तिमा थप अध्ययनका लागि भारत गइन् उनी  ।
चार वर्ष मेचि अस्पतालमा काम गरेपछि विभिन्न अस्पतालमा काम गर्दै उनी २०६१ सालमा अवकाश प्राप्त गरिन् । तर कामप्रतिको मोह भने सकिएन । त्यसैले केही समय काठमाडौँ मेडिकल कलेजमा पढाइन् । दुई वर्ष भयो, उनले कलेजबाट पनि विदा लिएको । अहिले विभिन्न संघसंस्थामा सक्रिय भएर सेवा दिइरहेकी छिन् ।
स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा उपस्थित हुन्छिन् । जानेको ज्ञान र हासिल गरेको अनुभव सुनाउँदा खुशी लाग्छ उनलाई  । उमेरले ७५ औं वसन्त लागेपनि जाँगर सेलाउन दिएकी  छैनने । वैशाख १२ को भुकम्पमा परेका धेरैको सहयोगमा आफू सक्रिय भएर लागेको उनी बताउँछिन् ।
नर्सको ड्रेस लगाउँदा ठान्थे विधवा !
नर्सहरुले त्यो समयको पहिरन सेतो सारी थियो । अहिले कुर्ता लगाउने प्रचलन आएर सहज भएको उनी बताउँछिन् । अहिलेको जस्तो गाडीमोटर थिएनन् । त्यसैले हिँडेर अस्पताल र घर हुनुपथ्र्याे ।सेतो पहिरनमा आउजाउ गरेको देख्थे धेरैले । त्यसैले उनलाई धेरैले विधवा ठान्थे । उनी सम्झिन्छन्, ‘कतिले त दयाभाव देखाउँदै भन्थे– कति सानै उमेरमा विधवा भइछौं नानी । जबकी उनले यस्तो प्रतिक्रिया पाउन समयमा उनको विवाह नै भएको थिएन । कतिले सानै उमेरकी विधवा जिस्काउथे उनलाई त्यसले आफूलाई चोट पुर्याउने गरेको उनी बताउँछिन् ।
नाइट ड्युटीमा जाँदा चरित्रमा औंला
उनले नर्सिङ पेशाका सुरुवाती दिन सहज रुपमा गुजारेकी होइनन् । छोरीबुहारी राति बाहिर बस्न हुँदैन भन्ने जमाना थियो त्यो । नर्स भएपछि के दिन के रात सेवामा समर्पित हुनैपर्यो । त्यसैले उनको कुरा काटिन्थ्यो । भन्छिन्, ‘छोरी मान्छे  राति बाहिर जान्छें । आफूलाई खुब जान्ने ठान्छे ।’
त्यो समय नर्स भनेपछि दुनियाँको हेर्ने नजरिया पनि त्यति राम्रो नभएको उनली बताउँछिन् । उनले भनिन्, ‘पेशालाई उसको चरित्रसँग दाँजेर हेर्थे ।’   त्यसैले उनलाई अहिले खुशी लाग्छ । किनकि नर्सिङ पेशामा आवद्ध गराउन अभिभावक नै लागिरहेका देख्छिन् उनी ।
उनको परिवार पनि सहयोगी भइदियो । अरुले जे कुरा काटे पनि उनलाई हौसला दिइरहे । स्टाफ नर्स पासको गरेको दुई वर्षपछि पूर्णमान श्रेष्ठसँग उनको विवाह भएको थियो ।  विवाहको एक वर्षमै छोरी जन्माइन्  ।  त्यो समय घर र अफिस सम्हाल्न उनलाई हम्मे प¥यो । तर आफ्ना श्रीमान्ले निकै सघाएको बताउँछिन् ।  ६ महिनाको काखे बच्चा छाडेर रातभरि अस्पतालमा ड्युटी गर्नुपर्दा भने उनको मन साह«ै रुन्थ्यो रे । तर, बिरामीको सेवामै छु भनेर उनी सम्हाल्थिन् ।
आफ्नी सासुले बालबच्चाको जिम्वारी लिने देखि लिएर घरको चिन्ताबाट मुक्त  पारेको उनले बताइन् । ‘आमाले जत्तिकै माया गर्नुहुन्थ्यो सासुले । त्यही भएर मैले जीवनभरि नर्स भएर सेवा गर्न पाएँ,’ उनले भनिन् । श्रीमान्ले त झन् धेरै माया गरेको बताउँछिन् । दुई छोरा र एक छोरीको शिक्षादिक्षाको सम्प्र्ण जिम्मेवारीमा श्रीमानले निकै साथ दिएको बताइन् । श्रीमानसँग उनको साथ छुटेको पनि १३ वर्ष जति भयो । श्रीमान्को साथ सहयोगले सन्तान सही बाटोमा लागेको देखेर मन बुझाउँछन् उनी ।
सेवामा जीवन समर्पण
पीडामा रहेकालाई सञ्चो पार्नु आफनो धर्म नै हो जस्तो लाग्छ उनलाई  । त्यसैले उनले अवकाश प्राप्त जीवनलाई समेत सदुपयोग गर्न रुद्र बहादुर प्रतिष्ठान नामक संस्थामा आवद्ध भएर, आफू जस्तै स्वास्थ्य क्षेत्रमा सेवा गर्ने चाहना भएकालाई एकतृत गरिरहेकी छिन् ।
उनले धेरै  टाढाबाट उपचार गराउन आउने र रोग निकै जटिल अवस्थामा पुगेपछि मात्रै अस्पताल आइपुग्ने थुप्रै बिरामीको सेवा गरेकी छिन् । डोकोमा आफन्त विरामी बोकेर खुट्टामा च्पपल समेत नभएका आफन्तहरु संगै उनीहरुको घरका सदस्यजस्तै आफ्नै हातले नुहाएर सरसफइ गर्नेदेखि लिएर, शैचालयसम्मका सम्पूर्ण काम आफूले गरेको सम्झिन्छिन् ।
श्रेष्ठ जस्तै अग्रज नर्सहरुका कारण नर्सिङ पेशाको उचाइ बढेको छ । पछिल्लो समय प्रविधीले गर्दा नर्सको काममा सहज भएको उनी बताउँछिन् । विभिन्न उपकरणले बिरामीको देखभाल गर्न नर्सलाई सहज भइरहेको कुराले उनलाई खुशी बनाउँछ  । धेरैमा स्वास्थ्य प्रतिसचेतना पनि बढेकाले पहिलेजस्तो सामान्य रोग लाग्दा पनि खात्तिर अस्पताल आउनेको सँख्या घटेको उनको अनुभव छ ।
अहिलेका नर्सः कामभन्दा गुनासो बढी
उनले काम गर्दा निकै कम नर्स थिए  । महिला डाक्टर त झन् औंलामा गन्न मिल्ने थिए  । एक नर्सले ७० भन्दा बढी बिरामीको हेरचाह गर्नुपथ्र्याे त्यो बेला । ‘नाइट डिउटीमा एकपल  पनि बस्न नमिल्ने हुन्थ्यो,’ उनी भन्छिन्, तर, हमीले आफूले सकेको सेवा दियौं । गुनासो गरेनौं । त्यो भन्दा त अहिलेका नर्सलाई कति सजिलो छ कति  । तर, अहिलेका नर्सहरु काम भन्दा बढी गुनासा गर्छन् ।
अहिलेका नर्स  सेवा होइन, डिउटी गर्छन् । डिउटी बाहेक कुनै कुराको चिन्ता हँुदैन उनीहरुलाई ।’
स्वास्थ्य क्षेत्रमा काम गर्न हरेक व्यक्तिमा महत्वपूर्ण जिम्वोवरी हुन्छ जस्तो लाग्छ उनलाई । नर्स अझ बिरामीको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्छन् उनीहरुलाई विशेष सुविधा हुनुपर्ने धारणा उनको छ  । तर, यस्ता जनशक्तिालाई काम र अनुभवको आधारमा प्रोत्साहन गर्ने र उचित पारिश्रमिक नदिने गरेको देख्दा उनको मन दुख्छ । उनी भन्छिन्, ‘श्रमको सम्मान नभए उनीहरु कसरी काममा ध्यान दिन्छन् त ।’
बिरामी सबै आफन्त
नर्स भएर अस्पतालमा काम गर्दा धेरै उनका आत्मीय भएका छन् । धेरैसँग आफन्तको सम्बन्ध बनेको छ । उसो त उनले हरेक बिरामीलाई आफन्त जस्तै सेवा गरेकाले पनि त्यस्तो भएको हो । अङगुरबाबा जोशीको परिवारसँग पनि सेवाकै कारण नाता गाँसिएको हो । उनकी आमालाई उनले अस्पतालमा गरेको सेवाका कारण अहिलेसम्म उनको जोशीको परिवारसँग आत्मीय सम्वन्ध छ । अहिले भने   हाल बिरामी र नर्स विचको सम्बन्ध उनको पालामा भन्दा निकै फरक ठान्छिन् ।
स्रोत : स्वास्थ्य खबर 

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses